७० करोडको सेयर कीर्ते प्रकरणमा कम्पनी रजिस्ट्रार कार्यालयका दुई उपसचिवसहित १२ जनालाई भ्रष्टाचार मुद्दा

124

छिनछिन खबर
काठमाडौं, मंसिर ११ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कम्पनी रजिस्ट्रार कार्यालयका दुई उपसचिवसहित १२ जनालाई ७० करोड बराबरको सेयर नामसारीमा कीर्ते गरेको अभियोगमा मुद्दा दायर गरेको छ । अख्तियारले मंगलबार विशेष अदालतमा उनीहरु विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । शंकर इलेक्ट्रिक इन्डस्ट्रिज प्रालिको सेयर नामसारीमा कीर्ते भएको भन्दै अख्तियारले कम्पनी रजिस्ट्रार कार्यालयका उपरजिस्ट्रार (उपसचिव) गंगाधर पौडेल र धर्मराज रोकायालाई मुख्य अभियुक्तको रुपमा मुद्दा दायर गरेको हो ।

भदौ २१ गत केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले शंकर इलेक्ट्रिकको सेयर बेचबिखनमा कीर्ते कागजपत्र बनाउन सघाउने कम्पनी रजिस्ट्रारको कार्यालयका अधिकृत, सहायक रजिस्ट्रारसहित १२ जनालाई पक्राउ गरेको थियो । अख्तियारले उपरजिस्ट्रारसहित सहायक रजिस्ट्रार नारायणप्रसाद पोखरेल, कर्मचारीहरु जितबहादुर मगर, उमेशमान जोशी, कम्प्युटर अपरेटर आशिष महर्जन र पुष्पकला राई समेतलाई विपक्षी बनाई भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारको आरोपपत्रमा कर्मचारीहरूसँग मिलेमतो गरी मतियारको भूमिका निर्वाह गरेको भन्दै जितबहादुर मगर, राजनप्रसाद लम्साल, पुण्यप्रसाद खरेल, निरजकुमार मानन्धर र प्रकाशविक्रम मिश्रलाई पनि भ्रष्टाचार मुद्दा दायर गरिएको जनाइएको छ ।

कर्मचारीको मिलेमतो र संलग्नतामा शंकर इलेक्ट्रिक इन्डस्ट्रिज प्रालिका एकल सञ्चालक राम निरञ्जन जटियाको गलत लिखत तयार गरी अर्कै व्यक्तिको नाममा सेयर हस्तान्तरण गरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ । सेयर कीर्तेको उजुरीमा छानबिन गर्दा विदेशमा रहेका जटियाको सेयर नेपालमा नामसारी भएको तथ्य खुलेको थियो। लगत्तै अख्तियारले कम्पनी रजिस्ट्रारका अधिकृतहरु नारायणप्रसाद पोखरेल, उमेशमान जोशी, कम्प्युटरमा रजिस्ट्रेसन गर्ने प्राविधिक शाखाका कर्मचारी आशिष महर्जन र पुष्पकला राई, मकवानपुरका राजनप्रसाद लम्साल, काठमाडौंका निरजकुमार मानन्धर, रामेछापका जितबहादुर मगर, काभ्रेका पुण्यप्रसाद खरेल, काभ्रेकै साइँला भन्ने राजकुमार तामाङ, हिमाल महर्जन, काठमाडौंका चिरिबाबु महर्जन र बाराका अमृत थापा मगर पक्राउ परेका थिए ।

Womui
Womui