नेपालगन्जको शान्ति, सुरक्षामाथी प्रश्न : पत्रकारको घरमै राखिएको मोटरसाईकलमा आजगजनी

146

नेपालगन्ज, मंसिर ११-

पत्रकार ओलीको मोटरसाईकलमा आगजनी नेपालगन्ज, मंसिर ११ नेपालगन्जका पत्रकार अर्जुन ओलीको घरमै आएर अज्ञात समुहले मोटरसाईकलमा आगजनी गरेको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० भृकुटीनगरस्थित आफ्नै घरमा पार्किङ गरेर राखिएको भे२प ८९१८ नम्बरको एमाहा कम्पनीको मोटरसाईकलमा सोमबार मध्यराती आगजनी गरेको हो । ओली नागरिक दैनिकको नेपालगन्ज संवाददाता हुन् ।

राती करिव पौने १ बजेतिर मोटरसाईकलमा आगो बलिरहेको देखेपछि वरपरका छिमेकीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । घरको बरण्डासँगै रहेको च्यानल गेटभित्र ताला लगाएर पार्किङ गरिएको उक्त मोटरसाईकलको पछाडीको भागमा अज्ञात समुहले आगो लगाएको प्रहरीले जनाएको छ । आगजनीबाट मोटरसाईकलको करिव आधा भाग जलेको छ । घटनापछि जिल्ला प्रहरी कार्यालय बाँकेको टोली आएर अनुसन्धान सुरु गरेको छ ।

‘घटनाको प्रकृती हेर्दा कसैले आगो लगाएको प्रष्ट देखिन्छ,’ जिप्रका मुद्दा शाखाका प्रहरी नायव निरीक्षक (सई) भाष्कर गिरीले भने । कसले र किन आगजनी गर्यो भन्ने कारण खुल्न सकेको छैन । आगजनीको घटना समयमै थाहा पाएका कारण घरमा ठुलो जनधनको क्षति हुन नपाएको पत्रकार ओलीले बताएका छन् । ‘आगो बलिरहेको देख्दा एकछिन त होस् हवास नै उड्यो, यदी पाँच मिनेट मात्रै ढिलो थाहा पाएको भए आगोले घरलाई पनि भेटाउथ्यो र नियन्त्रण गर्न धेरै कठिन हुन्थ्यो,’ उनले भने ‘यो घटनाले मानसिक रुपमा धेरै पीडा दिएको छ ।’

सुरुमा मोटरसाईकलकै ईलेक्ट्रिक सर्ट भएर आगो लागेको हुनसक्ने अनुमान गरिएपनि बिहान घटनास्थलमा आएर अनुसन्धान गरेको प्रहरीले नै कसैले आगजनी गरिदिएको कुराको पुष्टी गरेको ओलीले बताए । जिल्ला प्रहरी कार्यालय बाँकेका निमित्त प्रमुख(डिएसपी) राजेन्द्र अर्यालले घटनाको अनुसन्धान गरेर थप रहस्य पत्ता लगाइने बताएका छन् । ‘हामी अनुसन्धान गरेर यसको रहस्य पत्ता लगाउँछौं,’ उनले भने ।

Womui
Womui