वैदेशिक रोजगारीमा गएका नेपाली शेयर बजारमा, ५० हजारदेखि ५ लाख रुपैयाँसम्मको लगानी

34

युवराज पाण्डे
बुटवल, कात्तिक २१ । वैदेशिक रोजगारीमा गएका नेपालीहरु शेयर खरीद बिक्रीमा संलग्न हुने क्रम बढेको छ। । खासगरी कोरिया, दुवई, साउदी अरबलगायतका मुलुकमा वैदेशिक रोजगारीमा गएकाले आफ्नो परिवार वा अनलाइनमार्फत् ५० हजारदेखि पाँच लाख रुपैयाँसम्मको शेयर खरीद तथा बिक्री गर्ने गरेको बुटवलस्थित विभिन्न शेयर दलालका कार्यालयले जनाएका छन् ।
‘उनीहरुले विदेशबाट नै भन्छन् र हामीले खरीद गरिदिन्छौँ’ दक्षिणकाली इन्भेष्टमेण्ट बुटवलका शङ्कर भण्डारीले भने ।
पूँजी बजार अनलाइन प्रणालीमा गएपछि सबैभन्दा बढी वैदेशिक रोजगारीमा गएका लगानीकर्ता खुशी देखिएको उल्लेख गर्दै उनले आफ्नो कार्यालयबाट सबैभन्दा बढी कोरियाका रहेको बताए। अघिल्लो साता यो कार्यालयबाट कूल ६० लाख बराबरको कारोवार भएको छ ।
एशियन सेक्युरिटिज प्रालि (२६) नं दलाल कार्यालय बुटवलका पुष्पनिधि ढकालले भाइवरको प्रयोगमार्फत शेयरको माग गर्ने गरेको जानकारी दिँदै तीनदेखि पाँच लाख रुपैयाँ बराबरको शेयर खरीदको माग भएको बताए ।
आर्यनतारा इन्भेष्टमेण्ट प्रालि (५७) नं दलाल कार्यालय बुटवलका टेकराज भट्टराईले कोरियाबाट चार जनाले शेयर खरीद तथा बिक्री गरेको जानकारी दिँदै अनलाइनबाट नै भुक्तानी हुने गरेको बताए। । ‘वैदेशिक रोजगारीमा गएकाले श्रीमती वा परिवारको सदस्यको नाममा शेयर खरीद बिक्री गर्नुहुन्छ र चेक पनि बोकेर आउनुहुन्छ’, भट्टराईले भने ।
यो कार्यालयबाट कूल एक करोड २६ लाख १३ हजार ३८० बराबरको कारोवार भएको थियो। लगानीकर्ताको बैंकसम्बन्धी शेयर सबैभन्दा बढी रोजाइमा परेको छ । यी बाहेक रुपन्देहीमा पाँच वटा शेयर दलाल कार्यालयले शेयरको खरीद तथा बिक्री गर्ने गर्छन् ।
रासस

Womui
Womui