भुटानमा किन बढिरहेको छ आत्महत्या दर

105

थिम्पु, कात्तिक २० । अन्तर्राष्ट्रिय समुदाय माझ विश्वकै खुशी देशका रुपमा भुटान चिनिन्छ । धेरै देश कूल ग्रार्हस्थ उत्पादन (जिडिपी)लाई विकास सूचकका रुपमा मान्दै आएका छन् तर भुटानले भने जिडिपीलाई देश विकासको सूचक मान्न छोडेको छ। उसले जीएनएच अर्थात् कूल राष्ट्रिय खुशीपनालाई विकास सूचकका रुपमा लिने निर्णय गत जुलाईबाट नै कार्यान्वयनमा ल्याइसकेको छ ।
यस मामलामा धेरै विश्लेषकहरु पनि सहमत छन् । भुटान विश्व कै अनुपम राष्ट्र हो । पर्यावरणका दृष्टिले यो देशको तुलना अन्य देशसँग हुन सक्दैन। संसारकै सर्वा्धिक खुशी राष्ट्र भएकाले त्यहाँका सबै मानिस खुशी नै होलान् भन्ने धेरैको अनुमान हुन सक्छ र यो स्वभाविकै पनि हो । तर वास्तिकता भने अलि फरक छ। यहाँका मानिस डिप्रेसनबाट पीडित छन् मानसिक समस्याबाट मुक्त छैनन्।

भुटानको राजधानी थिम्पुस्थित नेसनल रेफरल हस्पिटलको तथ्यांकअनुसार भुटानका मानिस डिप्रेसनको शिकार हुनु भनेको सामान्य कुरा हो। भुटानबाट प्रकाशन हुने वार्षिक हेल्थ बुलेटिनअनुसार सन् २०१७ मा मानसिक रोगका बिरामीको संख्या करीब ४ हजार २ सय थियो। यति मात्र होइन, भूटानमा आत्महत्याको दर वार्षिक रुपमा उकालो लाग्दै आएको देखिन्छ। भूटान आफैंले सुरु गरेको जिएनएच् मापन प्रणाली उसैका लागि चुनौतीका रुपमा तेर्सिएको छ। भुटानमा आत्महत्या गर्ने मानिसको संख्या अरु देशको तुलनामा बढी होइन तर भुटानको जनसंख्यालाई आधार मानेर हिसाब गर्ने हो भने त्यहाँको आत्महत्या दर बढी नै हो ।

अहिले करीब ८ लाख २५ हजार जनसंख्या भुटानमा छ । यदी यहाँ सय मानिसले मात्रै पनि आत्महत्या गर्छन् भने जनसंख्याको अनुपातमा यो धेरै नै हुन आउँछ । आत्महत्या सम्बन्धी एक रिपोर्टका अनुसार डिप्रेसन नै आत्महत्याको मुख्य कारण भएको उल्लेख गरेको छ । ‘द डिप्लोम्याट’ मा प्रकाशित एक प्रतिवेदनअनुसार भुटानमा जम्मा चार जना मात्र मनोचिकित्सक छन्। मनोवैज्ञानिक छैनन्। प्रशिक्षित मनोचिकित्सक राजधानी थिम्पुमै सीमित छन्।

पछिल्लो समय भुटान सरकारले मानसिक स्वाथ्यको क्षेत्रमा बजेट बढाएको छ। स्वास्य्म मन्त्रालयले मानसिक स्वाथ्यका क्षेत्रमा आगामी पाँच वर्षका लागि ६ करोडको बजेट छुट्याउने प्रस्ताव गरेको छ। भुटानमा मानसिक स्वाथ्य सेवा र शिक्षाको क्षेत्रमा सचेतना फैलाउनु जरुरी रहेको बताइएको छ ।

उक्त प्रतिवेदनमा भुटानमा रहेको समस्याको अर्को कारणका रुपमा भाषालाई पनि मानिएको छ। भुटानको राष्ट्रिय भाषा जोङ्खा हो। तर यहाँ बोलिने अर्को भाषा बोलिया पनि हो। यो भाषा प्रयोग गर्ने मानिसलाई मानसिक स्वाथ्यका विषयमा सचेतना फैलाउन सहज छैन। बोलिया भाषामा मानसिक स्वास्थ्यसम्बन्धी सचेतना फैलाउने उपयुक्त शब्द भण्डारको कमी हुने विश्लेषकको भनाई छ।

स्वाथ्य मन्त्रालयको रिपोर्ट
मानसिक बिरामी भएका धेरैजसो मानिस पागलपनको शिकार भएको स्वास्थ्य मन्त्रालयको प्रतिवेदनले उल्लेख गरेको छ। पागलपनलाई मानिसहरु कंलकका विषयमा बुझ्ने गर्छन्। मानसिक स्वास्थ्यका विषयमा जनचेतना बढाउने अभियान र स्वाथ्य शिविर सञ्चालन भएको पाइदैन। जिएनएचमा मानसिक स्वाथ्यको विषयलाई नवौँ स्थानमा राखिएको छ । सन् २०१४ मा मन्त्रालयले प्रकाशन गरेको आत्महत्या सम्बन्धी रिपोर्टपछि भुटानको मानसिक स्वास्थ्यसम्बन्धी चिन्ता झनै बढेको छ। भुटानको अघिल्लो सरकारले स्वास्थ्य मन्त्रालयले आत्महत्या रोक्ने उदेश्यले तीन वर्षीय योजना ल्याएको थियो। राष्ट्रिय आत्महत्या रोकथाम उपाय (एनएसपीपी) नाम दिइएको उक्त योजना कार्यान्यवनमा आएको बताइए पनि आत्महत्या रोक्न कुनै हेल्पलाइन नम्बर समेत प्रयोगमा ल्याएको छैन।

आफ्नै विशेषताका कारण भुटान अन्तराष्ट्रिय समुदायमा परिचित छ। बौद्धधर्मावलम्बी यो देशमा आत्महत्याले भने विकराल रुप लिँदै गएको छ। विश्व स्वाथ्य संगठनका अनुसार विश्वमा धेरै आत्महत्या गर्ने देशको सूचीमा भुटान २१औं स्थानमा छ ।

अझै पनि मध्यकालीन समाज
एक अनलाइनसँग कुरा गर्दै भुटानका पहिला मनोचिकित्सक चेंचो दोरजीले भने, ‘भुटानीहरु डिप्रेसनको सिकार हुनुको सिधा सम्बन्ध परिवार र समुदायसँग छ। पारिवारिक सम्बन्ध टुटेकाले धेरै मानिस मानसिक रोगको शिकार भएका छन्। परिर्वतनको क्रममा रहेको भुटानका मानिस अहिले सोसल मिडिया र मोबाइलमा खर्च गरिरहेका छन्। पारिवारिक सम्बन्ध कमजोर बन्दै गएको छ ।

सामाजिक रुपमा मानिस एक्लिँदै गएको छ। सूचना प्रविधिको विकासले मानिसलाई यसमा प्रेरित गरिरहेको छ। मानसिक रोगले नराम्रोसँग गाँज्न थालेपछि मात्रै मानिसहरु अस्पतालसम्म पुग्ने गरेका छन्। डाक्टर चेंचो दोरजीले ‘द स्टार’सँग भने, ‘अझै पनि भुटान धेरै विषयमा मध्यकालीन समाज हो। यहाँको वस्तु विनिमय गर्ने प्रणाली अझै पनि लोकप्रिय छ। सन् १९६० को दशकमा भुटानका राजाले खुला बजार अर्थ प्रणाली अख्तियार गर्ने फैसला गरे। भुटानमा आधुनिक कालको यहीबाट सुरु भएको मानिन्छ। भुटानका मानिसहरु आज पनि त्यही कपडा लगाउँछन् जुन खालका कपडा सत्रौं शताब्दीमा लगाइन्थ्यो। तर केही मानिसले टि(शर्ट र मिनी स्कर्ट पनि लगाउन थालेका छन्।’

बिजनेशविक म्याग्जिनले २००६ मा भुटानलाई विश्वको आठौं खुशी देश भनेको थियो। संयुक्त राष्ट्रसंघले पनि भुटानका धेरै कुराको प्रशंसा गर्ने गरेको छ। तर भुटानका मानिसको वार्षिक आम्दानी कम छ भने यो देशको विदेशी ऋण पनि लगातार बढिरहेको छ ।

भुटानले १९९० को दशकमा एक लाख भन्दा धेरै नेपाली भाषी नागरिकलाई देश निकाला गरेको कुराले भुटान आलोचित हुने गरेको छ। भुटानमा बहुसंख्यक जनसंख्या भएको समुदाय नै अल्पसंख्यक हुने डर भुटानको उक्त कदमले पैदा गरेको थियो।

दोरजीका अनुसार १९९९ मा ५ हजार ३ सय मानिसहरु डिप्रेसन, मनोरोग र अरु खालका मानसिक बिरामी रहेको बताइन्थ्यो। द स्टारसँग कुरा गर्दै दोरजी भन्छन्,‘भुटानमा मनोरोगीको उपचार गर्ने एक मात्र विभाग रहेको छ। बिमारीको चाप निरन्तर बढिरहेको छ। ड्रग्सको कुलत, तीव्र गतिको शहरीकरण र बरोजगारी जस्ता समस्या बढ्दै गएका छन्।’

चेंचोलाई १९९९ मा भुटानको पहिलो मनोचिकित्सकका रुपमा नियुक्त गरिएको थियो। त्यही वर्ष उनले १ सय ५१ मानसिक बिरामीको उपचार गरेका थिए। त्यसको अर्को वर्षबाट यसको संख्या दोब्बर हुन थाल्यो। भुटानका पत्रपत्रिकामा छापिएको समाचार अनुसार २०१२ मा ७६ जना भुटानीले आत्महत्या गरेका थिए। ५४ वर्षीय चेचासँग हाल करिब ८ लाख २५ हजार मनोरोगीको उपचार एक्लैले गर्नु पर्ने जिम्मेवारी छ ।

रक्सी
चेंचोले २००५ को एक अनुसन्धान प्रतिवेदनमा लेखेका थिए, ‘रक्सी भुटानी संस्कृतिको एक महत्यवपूर्ण हिस्सा हो। बौद्ध परम्पराका ग्रन्थमा पनि रक्सीको उल्लेख भएको पाइन्छ। मानिसहरु रक्सी घरमा नै बनाउँछन्। अहिले यो आयको राम्रो स्रोत पनि बन्दैछ। यसको आयात पनि भइरहँदा रक्सी भुटानमा सर्वसुलभ रहेको भन्न सकिन्छ ।’

बिबिसीबाट

Womui
Womui