त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नतिको काम अघि बढ्यो

116

काठमाडौं, कात्तिक २० । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग स्तरोन्नति ‘रिह्याबिलिटेसन’ को प्रक्रिया अघि बढेको छ । निर्माणको जिम्मा पाएको चिनियाँ कम्पनी चाइना नेशनल एग्रो टेक्नोलोजी इन्टरनेशनल इञ्जिनियरिङ कर्पाेरेशनसँग सोमबार निर्माण सम्झौता भएको छ । चिनियाँ निर्माण कम्पनीसँग करबाहेक रु तीन अर्ब ७५ करोड रन्वे कालोपत्र परिवर्तनका लागि सम्झौता गरेको क्यानले जनाएको छ । सन् १९८० मा निर्माण भएको रन्वे अहिलेसम्म विस्तार तथा मर्मत हुन सकेको छैन।

धावनमार्ग स्तरोन्नतिको काम पाँच महीनाभित्र सुरू हुनुअघि आवश्यक तयारीका लागि पाँच महिनाको समय दिइएको छ। हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाका प्रमुख बाबुराम पौडेलले कम्पनीले आवश्यक तयारीका लागि चार महीना भए पुग्ने प्रस्ताव पेस गरे पनि आयोजनाले पाँच महिनाको समय दिएको बताए। क्यानका महानिर्देशक सञ्जिव गौतमका अनुसार आगामी अप्रिल १ बाट धावनमार्ग स्तरोन्नतिको काम सुरू हुनेछ। कम्पनीले पहिलो चरणमा तीन हजार मिटरको रन्वेको कालोपत्र परिवर्तन गर्नु पर्नेछ । दैनिक ८० मिटरका दरले १० घण्टा मिलिङ मेसिनको साथमा राति रन्वे बनाइनेछ। यो क्रममा दैनिक १० घण्टा विमान स्थल बन्द हुनेछ।

धावनमार्ग सकेपछि ‘पार्किङ बे’ को काम सुरू गरिनेछ। निर्माण कम्पनीले ४५ दिनको स्तरोन्नतिको तालिका बनाए पनि क्यानले ७० दिनको अवधि तोकेको छ। सन् २०१९ को अप्रिलदेखि विमानस्थल बेलुका १० बजेदेखि बिहान ८ बजेसम्म पूर्णरूपमा बन्द गरी रन्वेको कालोपत्र परिवर्तन सुरू गर्न लागेको क्यानले जनाएको छ । स्तरोन्नति गर्न करिब १८ महिना लाग्नेछ ।
रासस

Womui
Womui