सर्वसाधारणलाई माथिल्लो तामाकोसीको सेयर खुला

55

छिनछिन खबर
काठमाडौं, कात्तिक १५ । सर्वसाधारणलाई माथिल्लो तामाकोसीको प्राथमिक सेयर (आइपिओ) खुलेको छ । १ सय रुपैयाँ मूल्य तोकिएको आइपिओमा कम्तीमा ५० कित्ता तथा बढीमा १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । १ अर्ब ५८ करोड ८५ लाख रुपैयाँको अर्थात १ करोड ५८ लाख ८५ हजार कित्ता सेयर निश्कासन गरिएको हो । जसमा सामुहिक लगानी कोषहरुका लागि ७ लाख ९४ हजार २५० कित्ता छुट्याइएको छ ।


बिक्री प्रवन्धक नागरिक लगानी कोषका अनुसार छिटोमा कात्तिक १९ गतेसम्म आइपिओमा आवेदन दिन सकिनेछ । तोकिएको सबै परिमाण यस अवधिमा बिक्री नभएमा बिक्री नहुन्जेलसम्म वा मंसिर १४ गतेसम्म आवेदनको अवधि लम्बिन सक्नेछ । लगानीकर्ताको आफ्नो खाता रहेको तथा धितोपत्र बोर्डबाट सिआस्बाको अनुमति लिएका बैंक तथा वित्तीय संस्थाहरुमार्फत आवेदन दिन सकिनेछ । आफ्नो खाता भएको बैंकको कुनै पनि शाखामार्फत निशुल्क उपलव्ध हुने फारम भरी आवेदन गर्न सकिनेछ । त्यस्तै ‘मेरो सेयर’ प्रयोगकर्ताले अनलाइनबाटै आवेदन दिन सक्नेछन् । कम्पनीले यसअघि नै दोलखाका प्रभावित स्थानीयका लागि निश्कासन गरेको प्राथमिक सेयर बाँडफाँड भइसकेको छ ।

दोलखाको लामाबखरमा निर्माण भइरहेको ४५६ मेगावाट क्षमताको आयोजनाको ९५ प्रतिशत काम सकिएको छ । आयोजनाबाट व्यवसायिक रुपमा विद्युत उत्पादन गर्न भने अझै करिब १ वर्ष लाग्न सक्नेछ । काममा ढिलाइ हुँदा आयोजनाको लागत दोब्बरले बढ्ने भएको छ । इक्रा नेपालले कम्पनीको सेयरलाई ग्रेड ४ को मान्यता दिएको छ । यसले कम्पनीको सेयरमा प्रतिफल औसतमा कमजोर रहेको देखाउँछ । व्याजबाहेक ३५ अर्ब रुपैयाँको लागतमा आयोजना सम्पन्न हुने प्रारम्भिक अनुमान रहेकोमा ६० अर्ब नाघ्ने भएको छ ।अहिले नै सेयरमा लगानी गर्नेहरुको वास्तविक मूल्य ९७ रुपैयाँ ५४ पैसामा झरेको छ । प्रतिसेयर नेटवर्थ चालु आर्थिक वर्षको अन्त्यमा जम्मा ७८ रुपैयाँमा सीमित रहने कम्पनीकै प्रक्षेपण छ ।

ठूलो परिमाणमा सेयर निश्कासन हुने र कम्पनीको लागतका कारण परेको वित्तीय असरले लगानीकर्तालाई सेयर मूल्य वा प्रतिफलले त्यति धेरै नाफा दिन सक्ने देखिँदैन । आयोजनामा कर्मचारी संचय कोष, नेपाल टेलिकम, राष्ट्रिय बिमा संस्थान तथा नागरिक लगानी कोषले समेत गरी २० अर्ब रुपैयाँ लगानी गरेका छन् । नेपाल सरकारबाट ११ अर्ब ८ करोड तथा स्वपुँजी १० अर्ब ५९ करोड गरी कुल ४१ अर्ब ६७ करोड रुपैयाँ वित्तीय व्यवस्थापन गरिएको थियो । तर सो रकमले नपुग्ने भएपछि आयोजनाले ऋण थप्ने भएको छ ।

Womui
Womui