सरकारले तोक्यो देशभरिका सय पर्यटकीय गन्तव्य

44

प्रशिद्धिका खड्का
काठमाडौं, कात्तिक १५ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन विकासका लागि देशभरिका एक सय पर्यटकीय गन्तव्य छनोट गरी सार्वजनिक गरेको छ । मन्त्रालयले नेपाल पर्यटन बोर्ड, स्थानीय तथा प्रदेश सरकार र सरोकारवालाबाट सिफारिस भएको र आवेदन परेको गन्तव्यको आधारमा ती गन्तव्य छनोट गरेको हो ।


मन्त्रालयका सहसचिव घनश्याम उपाध्यायले पर्यटकीय गन्तव्यका लागि ६ सयभन्दा बढीको आवेदन परेको जानकारी दिए । आवेदन परेका गन्तव्य तथा प्रदेश र स्थानीय सरकारले दिएको सुझाव र मन्त्रालयले गरेको अध्ययनको आधारमा नयाँ गन्तव्य छनोट भएको उनले बताए । ती गन्तव्य छनोटका लागि मन्त्रालयले ५ वटा आधार तय गरेको थियो । सरकारले निजी क्षेत्रको सहकार्यमा गन्तव्य स्थानको विकास गरिने मन्त्रालयले जनाएको छ । नयाँ एक सय गन्तव्य छनोट कार्यले सन् २०२० मा मनाउन लागिएको ‘नेपाल भ्रमण वर्ष’ मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यलाई सहयोग पुगोस् भनी यो योजना अगाडि सारेको मन्त्रालयले जनाएको छ ।

पर्यटकीय गन्तव्य छनोटसँगै सरकारले सार्वजनिक निजी क्षेत्रको साझेदारी (पिपिपी) मोडलमा पूर्वाधार विकास गर्ने योजनालाई पनि प्राथमिकता दिने उपाध्याय बताउँछन् । सरकारले बजेटमार्फत नै सय गन्तव्य छनोटका लागि ५० करोड रुपैयाँ विनियोजन गरेको थियो ।
सय पर्यटकीय गन्तव्य छनोट गर्दा सय वर्ष पुराना पुरातात्विक सम्पदालाई सबैभन्दा बढी प्राथमिकता दिइएको सहसचिव उपाध्यायले बताए । यसैगरी, गन्तव्य छनोटमा ५ वर्ग किलोमिटर वा सोभन्दा बढी क्षेत्रफलमा फैलिएका तालतलैया वा पोखरी भएको ठाउँलाई समेत आधार मानिएको छ । चर्चित पर्यटकीय गन्तव्य तर भौतिक पूर्वाधार र सेवासुविधाले पछाडि परेको ठाउँलाई पनि पाँच आधार भित्र राखिएको छ । पर्यटकीय स्थलको भौतिक पूर्वाधार विकास र गुरुयोजना तयार भए पनि कार्यान्वयन हुन नसकेको आधारमा पनि पर्यटकीय गन्तव्य छनोट हुने उनको भनाइ छ ।

पर्यटकीय प्रमुख गन्तव्यमा काठमाडौंको पशुपति, बौद्धनाथ, स्वयम्भु, कास्कीको पोखरा,, चितवनको सौराहा, रुपेन्देहीको लुम्बिनी, बाँकेको बागेश्वरी, गाभर भ्याली र राष्ट्रिय निकुन्ज, बर्दिया निकुन्ज, कैलालीको घोडाघोडी ताल, मनाङको तिलिचो ताल, मुगुको राता, ताप्लेजुङको पाथीभारा, इलामको माइपोखरी, जुम्लाको सिंजालगायतका क्षेत्र परेका छन् ।

Womui
Womui