औषधी ब्यवसायी संघ पनि संघिय संरचनामा

95

“विधान संशोधन भएसँगै संघको अञ्चल शाखा खारेज भएको छ । यद्यपी नयाँ निर्वाचन नहुँदा सम्मको लागि भने समितिका पदाधिकारीको पदावधी रहने साधारण सभाले म्याण्डेट दिएको छ ।”

नेपालगन्ज, कात्तिक १०-
औषधी ब्यवसायी संघ पनि संघिय संरचनामा गएको छ । संघ स्थापना भएको ४६ वर्षपछि पूणै रुपमा विधान संशोधन गरेर संघिय संरचनामा गएको हो । नेपालगन्जमा शनिबार सम्पन्न संघको केन्द्रिय साधारण सभाले अञ्चल शाखालाई खारेज गरी प्रादेशिक संरचना सहितको विधानलाई सर्वसम्मत रुपले पारित गरेको छ । विधान संशोधनका लागि संघले विगत एक वर्षदेखी प्रयास गर्दै आएको थियो । देशभरबाट साधारण सभामा उपस्थित भएका २ सय ३७ भन्दा बढी प्रतिनिधीले छलफल गरेर विधान संशोधन गरेको मस्यौदा समितिका संयोजक एवम् निर्वतमान अध्यक्ष बाबुराम भट्टराईले जानकारी दिए ।

विधान संशोधन भएसँगै संघको अञ्चल शाखा खारेज भएको छ । यद्यपी नयाँ निर्वाचन नहुँदा सम्मको लागि भने समितिका पदाधिकारीको पदावधी रहने साधारण सभाले म्याण्डेट दिएको छ । २०३० सालमा स्थापना भएको संघको पुरानो विधान अनुसार जिल्ला उपाशाखा, अञ्चल शाखा र केन्द्रिय समिति रहने ब्यवस्था थियो । तर, नयाँ संशोधित विधान अनुसार भने जिल्लालाई शाखाको मान्यता दिएको छ । अञ्चलको सट्टा प्रदेश समिति कायम गरिएको छ । केन्द्रिय समितिको संरचना भने पुरानै विधान सम्मत रहेको संयोजक भट्टराईले जानकारी दिए । केन्द्रीय समिति, प्रदेश समिति र जिल्ला शाखाको कार्यकाल ३ वर्षको रहने विधानले ब्यवस्था गरेको छ । जसअनुसार एउटा केन्द्रिय समिति, ७ वटा प्रदेश समिति तथा ७७ वटै जिल्लामा शाखा रहने साविक भेरी अञ्चल शाखाका प्रवक्ता जीवन शर्माले जानकारी दिए ।

विधान अनुसार जिल्ला शाखाका पदाधिकारीले प्रदेश समितिलाई निर्वाचित गर्न पाउनेछन्, भने प्रदेश समितिले केन्द्रिय समितिका पदाधिकारीलाई निर्वाचित गर्नेछन् । साधारण सभाले आगामी पुस मसान्त भित्रमा नयाँ संरचना अनुसार केन्द्रीय समितिको निर्वाचन गरिसक्नुपर्नेछ । निर्वाचित केन्द्रिय समितिले ६ महिनाभित्र प्रदेश समिति र ७७ वटै जिल्ला शाखाको निर्वाचन सम्पन्न गराउनुपर्नेछ । संघका केन्द्रिय अध्यक्ष मृगेन्द्र मेहर श्रेष्ठको सभापतित्वमा सम्पन्न साधारण सभाको उद्घाटन शत्रमा बोल्ने बक्ताले ब्यवसायीमाथी चौतर्फी रुपमा हमला भईरहेको गुनासो गरेका थिए ।

उद्घाटन कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर उमा थापामगर, संघका भेरी अञ्चल शाखा अध्यक्ष अभयकुमार बस्नेत, गण्डकी अञ्चल शाखा अध्यक्ष रामबहादुर केसी, कोसी अञ्चल शाखा अध्यक्ष कुमार खतिवडा, चितवन जिल्ला उपशाखा अध्यक्ष बद्रीप्रसाद खनाल, नेपाल सिएमए संघका केन्द्रिय निर्वतमान अध्यक्ष गणेश साउद, औषधी ब्यवस्था विभागका प्रतिनिधी सुवास गौतम लगायतले बोलेका थिए ।

Womui
Womui