श्रम स्विकृतिका लागि घन्टौं लाम बस्नुपर्ने बाध्यता हट्यो

135

प्रशिद्धिका खड्का
काठमाडौं, कात्तिक ९ । कतार जानुअघि श्रम स्वीकृतिको आवेदन दिन आउँदा धादिङका हरि शर्मा ४ घन्टा लाइनमा बसेका थिए । रि–इन्ट्री प्रक्रियाकै लागि घन्टौंसम्म उभिनुप¥यो । तीन वर्षअघि उनले भोगेजस्तो पीडा अब वैदेशिक रोजगारमा जाने युवाले खेप्नुपर्नेछैन । किनकि असोज १ देखि अनलाइन प्रणाली लागू भएपछि सकसपूर्ण बाध्यता हटेको छ । ‘पहिलोपटक छुट्टीमा आएर फर्किने बेला ४÷४ घन्टा लाइन बसेको थिएँ । अहिले आवेदन दिएको आधा घन्टामै काम सकियो । श्रम स्वीकृति पाइयो,’ उनी खुसी हुँदै भन्छन् । श्रम स्विकृतिका लागि अनलाइन प्रणाली लागू भएपछि ताहाचलस्थित वैदेशिक रोजगार विभागको कार्यालय श्रमग्राममा घन्टौं लाम लाग्नुपर्ने बाध्यता हटेको छ । साउदी अरब जान लागेका महोत्तरीका दिनेश यादवले बिमा र वैदेशिक रोजगार प्रवर्द्धन बोर्डमा रकम तिरेर आवेदन दिएको आधा घन्टामै श्रम स्वीकृति निस्किएको बताए । २ वर्षअघि आवेदन दिँदा ३ दिनपछि पनि श्रम स्वीकृति नपाएको पीडा सम्झिँदै उनले भने, ’अनलाइन सिस्टम लागू भएपछि झन्झटबाट मुक्ति पाइयो ।’ बिहान १० बजे नै बैंकमा पैसा तिरे पनि ५ घन्टासम्म रकम तिरेको भौचर बोकेर लाइन बस्नुपर्ने अवस्थाको पनि अन्त्य भएको छ । कतिपय युवाले त छिटो काम गरिदिनका लागि बिचौलियालाई घुससमेत खुवाउने गरेका थिए । चितवनका रामकुमार सेन्ताङ भन्छन्,’ पहिलो पटक श्रम स्वीकृति लिन आउँदा ५ घन्टा लाइनमा बस्दा पनि काम भएन । घुस खुवापछि मात्रै काम सकेर फर्किएँ ।’ ‘विगतमा विवादित फाइल हराउने समस्या रहेछ । अहिले अनलाइनबाट सबै विवरण तुरुन्त हेर्न पाइन्छ । कुनै कामदारलाई समस्या भयो भने अनलाइनमाफत नै समाधान हुन्छ,’ उनले भने ।

गलत नामावली, तालिम नलिई अभिमुखीकरणको प्रमाणपत्र लिने, नक्कली बिमा जस्ता समस्यासमेत अनलाइन सिस्टमबाट हटेको छ । ‘यो प्रणाली असफल पार्न केही बिचौलियासँग मिलेका केही कर्मचारीले धेरै मेहनत गरेका थिए तर सफल भएनन्,’ एक कर्मचारीले भने । श्रम कार्यालय ताहाचलका प्रमुख युवराज खतिवडाले अनलाइन प्रणाली कामदार र कर्मचारी दुवैको काममा ठूलो राहत मिलेको बताउँछन् । ‘विगतमा विवादित फाइल हराउने समस्या रहेछ । अहिले अनलाइनबाट सबै विवरण तुरुन्त हेर्न पाइन्छ । कुनै कामदारलाई समस्या भयो भने अनलाइनमार्फत नै समाधान हुन्छ,’ उनी भन्छन् । श्रम स्विकृतिका लागि कामदार आफैले फाराम भर्न सकून् भनेर यो प्रणाली लागू गरिए पनि विभागको वेबसाइट कामदारमैत्री बन्न सकेको छैन। संस्थागत तर्फबाट जानेहरुको विवरण म्यानपावर कम्पनीले भरिदिए पनि व्यक्तिगत र पुनः श्रम स्वीकृतिमार्फत जान लागेकाहरुले विभागको वेबसाइटमार्फत फाराम भर्नुपर्ने हुन्छ । वेबसाइटमा सहजै फाराम भर्ने ठाउँ देख्न नसक्ने अवस्था छ भने साइबरमा बिचौलियाले फाराम भरिदिँदा मात्रै ढुक्क हुने अवस्था नभएको एक युवाले बताए ।

यसरी भर्न सकिन्छ फारम
वैदेशिक रोजगारीमा जाने कामदारले विभागको वेबसाइटमार्फत आफै फाराम भर्न सक्छन् । ‘युजर नेम’ र ‘पासवर्ड’ राखेपछि वैदेशिक रोजगार विभागलाई ‘युजर नेम’को जानकारी गराउनुपर्छ । ‘युजर नेम’बाट आएका विवरणलाई विभागले स्विकृति प्रदान गर्दछ । साइबरमार्फत फाराम भरेको दुई सय रुपैयाँ लिन पाउने व्यवस्था छ । तर सेवाग्राहीसँग बिचौलियाले ७ सयदेखि २ हजारसम्म लिने गरेका थिए । फारम भरिसकेपछि बिमा रकम र वैदेशिक रोजगार प्रवर्द्धन बोर्डलाई तिर्नुपर्ने कल्याणकारी कोषको रकम बैंकमार्फत तिरेको विवरण, स्वास्थ्य परीक्षण र अभिमुखीकरण तालिमको प्रमाणपत्र अनलाइन प्रणालीमार्फत आएपछि मात्रै श्रम स्विकृति जारी हुन्छ । कामदारले संस्थागत र व्यक्तिगत श्रम स्विकृतिबारे प्रस्ट खुलाउनुपर्छ ।

Womui
Womui