एसपी डिल्लीराज विष्ट र इन्स्पेक्टर जगदीश भट्ट प्रहरी सेवाबाट बर्खास्त

264

छिनछिन खबर
काठमाडौं, कात्तिक ८ । कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार तथा हत्या प्रकरणमा गतिलो अनुसन्धान नगरेको आरोप लाग्दै आएका कञ्चनपुरका तत्कालीन प्रमुख प्रहरी उपरीक्षक (एसपी) डिल्लीराज विष्ट र इन्स्पेक्टर जगदीश भट्टलाई बिहीबार प्रहरी सेवाबाट बर्खास्त गरिएको जनाएको छ । १३ वर्षीया बालिका पन्तको हत्याको अनुसन्धानमा गम्भीर लापरबाही गरेको भन्दै एसपी विष्ट र घटनाको प्रमाण नष्ट गरेको भन्दै गृह मन्त्रालयले भट्टलाई सेवाबाट बर्खास्त गरेको हो ।

गृहले स्पष्टीकरण लिएर मन्त्रालयमा पेस गर्न प्रहरी प्रधान कार्यालयलाई आदेश दिएको थियो । पन्त हत्याको अनुसन्धानमा लापरबाही गरेको भन्दै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले गत असोज २९ गते प्रहरी उपरीक्षक विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टराईलाई सेवाबाट निष्काशन गर्न गृह मन्त्रालयसमक्ष पत्राचार गरेका थिए ।

गत साउन १० गते साथीको घरबाट स्कुलको गृहकार्य सकेर घर जाँदै गरेकी १३ वर्षीया निर्मलाको बलात्कारपछि हत्या गरिएको अवस्थामा साउन ११ गते बिहान उखुबारीमा शव भेटिएको थियो । आधा दर्जनभन्दा बढी प्रहरी टोलीले घटनाको छानबिन गरे पनि परिणाम शून्य भएको अवस्थामा सरकारले कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख विष्टलाई बर्खास्त गरेको हो । पन्तका आफन्तले भने विष्ट र भट्टलाई सेवाबाट बरखास्त मात्र गरेर न्याय नहुने बताएका छन् । उनीहरूले अब विष्ट र भट्टमाथि अनुसन्धान गर्नुपर्ने माग गरेका छन् ।

Womui
Womui