नाइजेरियामा साम्प्रदायिक हिंसा ५५ जनाको मृत्यु, २४ घण्टे कर्फ्यू जारी

159

अबुजा, कात्तिक ५ (एजेन्ुसी । नाइजेरियाली अधिकारीहरुले कडुनामा इसाई र मुस्लिम युवाबीच हिंसा भड्किएपछि २४ घण्टे निषेधाज्ञा (कर्फ्यू) जारी गरेका छन् । हिंसाका कारण कम्तीमा ५५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । गभर्नर नासिर एल–रुफाईले एक वक्तव्य जारी गर्दै परिस्थितिलाई काबुमा ल्याउन कडुना महानगर क्षेत्रमा राज्य सरकारले कर्फ्यू जारी गरेको बताए। उनले शान्ति कायम गर्न सबै स्थानीयबासीसँग आग्रह गरेका छन् ।

हउसा मुस्लिम र अदारा इसाई युवाबीच यसैसाता सुरु भएको साम्प्रदायिक हिंसाका कारण कडुनाको कसुवान मगानी बजारमा तनावको वातावरण उत्पन्न भएको थियो । बजारमा शुरुमा बिहीबार दुई जनाको हत्या गरिएको थियो । त्यसपछि नाटकीय रुपमा हिंसा फैलिएको थियो। अदारा युवाले त्यसपछि हउसा समुदायका घरघरमा आक्रमण गरेका थिए। उनीहरुले स्थानीयबासीका घरमा आगो लगाउनुका साथै दर्जनौंको हत्या गरेका थिए । आफ्नो घर गुमाएका मगानीका बासिन्दा मुहम्मदु बालाले हउसा समुदायमा अधिकांश हत्या दोस्रो पटकको आक्रमणमा भएको जानकारी दिए। कडुनाका प्रहरी आयुक्त अहमद अब्दुर–रहमानले हिंसा फैल्याएको आरोपमा २२ जनालाई शुक्रबार पक्राउ गरिएको बताए । 

कडुना राज्य नाइजेरियाको उत्तरी भेगका बहुसंख्यक मुस्लिम र दक्षिणका इसाई बहुल क्षेत्रको बीचमा रहेको छ। यहाँ दुई सम्प्रदायबीच हिंसात्मक घटनाहरु भइरहन्छन् ।

फेब्रुअरीमा कम्तीमा १० जनाको ज्यान गएको थियो भने सयौं घरमा आगजनी गरिएको थियो। सन् २००० र २००२ मा फैलिएको हिंसामा हजारौं मारिएका थिए । नाइजेरियाका राष्ट्रपति मोहम्मदु बुहारीले दुई सम्प्रदायबीच उत्पन्न असमझदारीले पटपटक मुलुकमा हिंसात्मक साम्प्रदायिक घटना हुने गरेको बताएको केही दिनभित्रै पछिल्लो घटना भएको हो ।

Womui
Womui