नहर भत्केको अढाई महिनापछि सिक्टाको स्थलगत छानविनमा संसदीय समिति

159

नेपालगन्ज, असोज २४-
सिक्टा सिचाई आयोजनाभित्रको अनियमितता छानविनका लागि संसदीय टोली बाँके आएको छ । उक्त टोलीले बुधबारबाट स्थलगत अध्ययनको काम सुरु गरेको छ । राष्ट्रिय गौरवको सिक्टा सिचाई आयोजनाको पश्चिम मुल नहर परिक्षणका क्रममा गत साउन ७ गते ढकेरीस्थित चंगाई नाला नजिक भत्किएको थियो । नहर भत्किएपछि पटक–पटक स्थानीय बासिन्दाले संसदीय समितिको माग गरेपनि करिव अढाई महिनापछि संघिय संसद कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिका पदाधिकारी आएर छानविनको काम थालेका हुन् ।

समितिका सभापति पुर्णाकुमारी सुवेदीको नेतृत्वमा सदस्य राजबहादुर बुढाक्षेत्री, शान्ति माया तामाङ र सत्यनारायण शर्मा(खनाल) बाँके आएका हुन् । समितिका पदाधिकारीसँगै बाँके क्षेत्र नम्बर १ का प्रतिनिधी सभा सांसद महेश्वरजंग गहतराज, प्रदेश सभाका सांसदहरु कृष्णा केसी, आईपी खरेल, बाबुराम गौतम पनि बुधबार स्थलगत अनुगमनमा पुगेका थिए । संसदीय समितिले पहिलो दिन सिक्टा सिचाई आयोजनाको अगैयादेखी जेठी नालासम्मको पश्चिम मुलनहर पुरै निरीक्षण गरेको सभापति सुवेदीले जानकारी दिईन् ।

सो क्रममा संसदीय टोलीले बाँकेको सम्शेरगन्जमा स्थानीय बासिन्दासँग छलफल तथा अन्तरक्रिया गरेको थियो । छानविनका क्रममा टोलीले बिहीबार सिक्टाको निर्माणाधिन पुर्वी नहरको निरीक्षण गर्ने उनले बताईन् । पुर्वी र पश्चिम नहरको निरीक्षण गरिसकेपछि नेपालगन्जमा सर्वपक्षिय रुपमा छलफल तथा अन्तरक्रिया गर्ने कार्यक्रम रहेको संसदीय टोलीले जनाएको छ ।

स्थानीय बासिन्दाले सिक्टाको काम कमसल रुपले निर्माण हुँदा बारम्बार समस्या बल्झिएको बताए । राप्तीसोनारी गाउँपालिका वडा नम्बर ९ ढकेरीका स्थानीय श्रीधर उपाध्यायले सिक्टाको नहर कमसल निर्माण हुँदा बालापुरदेखी ढकेरी गाउँसम्मको पाँच किलोमिटर क्षेत्र निकै जोखिमपुर्ण अवस्थामा रहेको बताए । ‘कमसल निर्माणकै कारण २०७३ सालमा पनि नहर भत्किएको थियो, अहिले २०७५ मा पनि परिक्षणकै क्रममा भत्कियो, अझैपनि हामीलाई सिक्टामाथी शंका नै लागेको छ,’ उनले भने ।

संसदीय टोली तीन महिनासम्म के हेरेर बसेको भन्दै उपाध्यायले असन्तुष्टी जनाए । सो क्रममा वडा नम्बर ९ का वडाअध्यक्ष महाबीर ओली, राप्तीसोनारी–८ बालापुरका स्थानीय कमानसिंह खनाल, विष्णु बटाला, बालापुरका शिक्षक मोहन खत्री लगायतले संसदीय समितिलाई सुझाव दिएका थिए ।

Womui
Womui