बलात्कार घटनामा गलत स्वास्थ्य परीक्षण रिपोर्ट दिने २ डाक्टरको लाइसेन्स निलम्बन

314

छिनछिन खबर
काठमाडौं, असोज २४ । नेपाल मेडिकल काउन्सिलले १२ वर्षीया बालिका बलात्कार घटनामा गलत स्वास्थ्य परीक्षण प्रतिवेदन दिने दुई डाक्टरको लाइसेन्स निलम्बन गरेको छ । काउन्सिलले डा रम्भा गोइत र डा विजयकुमार सिंहले न्युनतम चिकित्सकीय आचरण तथा व्यवहारविपरीत मेडिकल रिपोर्ट दिएको ठहर गर्दै अर्को निर्णय नभएसम्मका लागि निजहरुको प्रमाणपत्र निलम्बन गर्ने निर्णय गरेको काउन्सिलले जनाएको छ ।


काउन्सिलले गठन गरेको छानबिन समितिले बयानका लागि बोलाउँदा अटेर गर्ने सिराहा जिल्ला अस्पतालका डा राकेशकुमार सिंहलाई ७ दिनको म्याद दिई प्रष्टिकरणका लागि बोलाउने निर्णय समेत गरेको छ । महान्यायाधिवक्ता अग्नि खरेलको अध्यक्षतामा रहेको समन्वय समितिले उनीहरुलाई कारबाही गर्न मेडिकल काउन्सिललाई सिफारिस गरेको थियो । समितिमा गृह सचिव, कानुन सचिव, स्वास्थ्य सचिव लगायत सदस्य छन् । गत भदौ ८ गते राति १०स्४५ मा धनुषाको जनकनन्दनी गाउँपालिका(२ बस्ने करण मण्डलले बालिकालाई जबरजस्ती करणी गरेका थिए । समितिको प्रतिवेदनमा बालिकामाथि बलात्कार भएको अध्ययन र घटनास्थलको मुचुल्काले देखाएको उल्लेख छ । त्यसपछि बालिकाको जनकपुर अञ्चल अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको थियो ।

स्वास्थ्य परीक्षणमा संलग्न सिंह र गोइतले बलात्कार नभएको रिपोर्ट दिएका थिए । त्यसपछि बालिकाका परिवारले पुनः सिरहा जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण गराएका थिए । सरकारी वकिलको कार्यालय धनुषाले जिल्ला अस्पताल सिरहामा बालिकाको स्वास्थ्य परीक्षण गराएको थियो । परीक्षणमा सिरहा अस्पतालले बालिकामाथि बलात्कार भएको रिपोर्ट दिएको छ । महान्यायाधिवक्ताको अध्यक्षतामा रहेको समन्वय समितिले जनकपुर अञ्चल अस्पतालका डाक्टर सिंह र गोइतले गम्भीर लापरबाही गर्दै अनुसन्धानको काम प्रभावित बनाएको ठहर गर्दै कारबाहीका लागि सिफारिस गरेको हो ।

Womui
Womui