एयर एसियाले एकैपटक बुझायो ७ करोड, बाँकी रकम चुक्ता नगरे जुनसुकै बेला जहाज ग्राउन्डेड

105

छिनछिन खबर
काठमाडौं,असोज २० । मलेसियन विमान कम्पनी एयर एसियाले त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल कार्यालयलाई ७ करोड रुपैयाँ बुझाएको छ।एयर एसियाले शुक्रबार विमानस्थल सेवा शुल्क बापतको बक्यौता रकमको ७ करोड रुपैयाँ भुक्तानी गरेको विमानस्थल कार्यालयका प्रमुख राजकुमार क्षेत्रीले जानकारी दिए।

एयर एसियाले ७ करोड रुपैयाँ तिरे पनि विमानस्थल कार्यालयलाई तिर्नुपर्ने रकमको विलम्ब शुल्क १३ करोड रुपैयाँ बाँकी नै छ।एयर एसियालाई एक साताआगाडि मात्रै विमानास्थल कार्यालयले एकै पटकमा १० करोड रुपैयाँ नतिरेको अवस्थामा जहाज त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमै ग्राउन्डेड गर्ने भन्दै पत्राचार गरेको थियो। उडान सुचारु गरिरहेको अवस्थामा एयरलाइन्सले विमानस्थल कार्यालयलाई तिर्नुपर्ने रकम साँवा मात्रै २७ करोड रुपैयाँ पुगेको थियो। त्यसमा पनि विलम्ब शुल्क १३ करोड थप भइसकेको थियो। साँवा र विलम्ब शुल्कसहित एयर एसियाले विमानस्थल कार्यालयलाई झन्डै ४० करोड रुपैयाँ बुझाउनुपर्ने भइसकेको थियो।यो विषयमा मिडियामा आउन थालेपछि विमानस्थल कार्यालयले एयर एसियासँग रकम उठाउन ताकेता गर्दै आएको थियो । शुक्रबारसम्म गरी एयर एसियाले साँवा रकम भुक्तानी गरेको क्षेत्री बताउँछन्। अब एयर एसियाले बाँकी रहको विलम्ब शुल्क बापतको १३ करोड बक्यौता चुक्ता नगरेको अवस्थामा जुनसुकै अवस्थामा जहाज काठमाडौं विमानस्थमै ग्राउन्डेड गरिदिने क्षेत्री बताउँछन्। ‘एयर एयसियाले यही असोज २७ गतेबाट उडान बन्द गर्दैछ,’ उनले भने, ‘उडान बन्द गर्ने दिनसम्म पनि रकम चुक्ता गर्न नसक्ने भए कम्पनीले लिखित प्रतिबद्धता गर्नुपर्छ।’विमानस्थलको बक्यौता बाँकी अहिले नेपाल पर्यटन बोर्डलाई बुझाउनुपर्ने ७ करोड २३ लाख रुपैयाँको विषयमा पनि छलफल भएको उनको भनाइ छ।

बाँकी रकम नतिरे के हुन्छ?
विमानस्थल सेवा शुल्क नियमावली २०६७ को नियम ३० मा विमानस्थल कार्यालय प्रमुखले वायुयान कम्पनीले समयमै रकम दाखिला नगरेको अवस्थामा कारोबार रोक्कादेखि तत्काल उडान बन्द गराउन सक्ने उल्लेख छ।नियमावलीको नियम ३० को १ मा नियमावली बमोजिम बुझाउनुपर्ने शुल्क समयमा नबुझाउने व्यक्ति वा संस्थालाई विमानस्थलबाट जारी भएको अनुमतिपत्र, सम्झौतापत्र वा अन्य कुनै कारोबार गर्न दिएको अनुमति विमानस्थल प्रमुखले स्थगन गरी विमानस्थलमा रहेको निजको सम्पत्ति रोक्का राखी निजको काम कारबाही वा व्यवसायमा रोक लगाउन सक्ने उल्लेख छ। साथै त्यसरी रोक लगाएको सूचना अविलम्ब प्रधान कार्यालयमा पठाउनुपर्ने हुन्छ।नियम २ मा कुनै व्यक्ति वा निकायले बिल जारी भएको मितिले ६० दिनसम्म पनि विमानस्थलसँग सम्बन्धित शुल्क नबुझाएमा विमानस्थलको प्रमुखले त्यस्तो व्यक्ति वा संस्थालाई विमानस्थलमा व्यवसाय गर्न रोक लगाउँदै वायुसेवाको हकमा उडानमा तत्काल रोक सक्ने उल्लेख छ।नियम ३० को ३ मा प्राधिकरणले यस नियमावली बमोजिम बुझाउनुपर्ने शुल्क नबुझाएमा वा प्राधिकरणसँग भएको सम्झौता उल्लंघन गर्ने व्यक्ति तथा संस्थाका सञ्चालकलाई भविष्यमा हवाई सेवा, विमानस्थल तथा प्राधिकरणसँग सम्बद्ध कुनै किसिमको कामकारबाही तथा व्यापार व्यवसायमा सहभागी हुन नपाउने गरी कालोसूचीमा राख्न सक्नेसमेत नियमावलीमा उल्लेख छ।नियमावलीका ४ मा समयमा शुल्क नबुझाउने व्यक्ति वा संस्थाउपर समयमै नियम बमोजिमको कारबाही प्रक्रया सुरु नगर्ने विमानस्थल प्रमुखउपर विभागीय कारबाही गरिने पनि उल्लेख छ।

Womui
Womui