राप्तीसोनारीले बुझायो मुख्यमन्त्रीलाई ११ बुँदे ज्ञापन पत्र

128

नेपालगन्ज, असोज १०-
बाँकेको राप्तीसोनारी गाउँपालिकाले विभिन्न माग सहितको ज्ञापन पत्र प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेललाई बुझाएको छ । गाउँपालिका अध्यक्ष लाहुरा थारुले प्रदेश पाँचको राजधानी बुटवलमा बुधबार उक्त ज्ञापन पत्र बुझाएका हुन् । गाउँपालिकाले प्राविधिक शैक्षिक संस्था स्थापना, बिद्युत विस्तार, अस्पताल निर्माण, राप्ती नदीमा दुबैतर्फ तटबन्धन, बैजापुरदेखी बिनौना फत्तेपुर हुदै नेपालगन्ज जोड्ने सिधनिया पुलसम्म बाटो कालोपत्रे, सिक्टा सिचाईदेखी भगवतीपुर, कुम्भर सन्तपुर हुदै अलिनगर निस्कने रिङरोड कालोपत्रे, राप्तीसोनारी गाउँपालिका वडा नम्बर १ भम्कामा झोलुंगे पुल निर्माण गरिदिनुपर्ने माग गरेको छ ।

यस्तै सम्शेरगन्ज पार्कलाई प्रदेशकै स्मार्ट पार्कको रुपमा विकास गर्नुपर्ने, भुवर भवानी मन्दिर निर्माण, माथेवासदेखी मदुवा हुदै कम्दी जोड्ने बाटो निर्माण र राप्ती सोनारी गाउँपालिका वडा नम्बर ४ मा कजवे निर्माण गरिदिन गाउँपालिकाले प्रदेश सरकारलाई ध्यानाकर्षण गराएको छ । ‘देशकै गौरव इतिहास बोकेको गाउँपालिका मध्येकै यो राप्तीसोनारी गाउँपालिका सुगम जिल्लाको दुर्गम ठाउँ भनि चिनिन्छ, जुन भौगोलिक क्षेत्रफलका हिसाबले नेपालको चौथो र जनसंख्याको हिसाबले नेपालकै ठुलो गाउँपालिका हो,’ विज्ञप्तीमा भनिएको छ ‘बाँके जिल्लामा ८ वटा स्थानीय तह रहेतापनि जिल्लाको आधा भन्दा बढी भु भाग यस गाउँपालिकाले ओगटेको छ, तसर्थ भौगोलिक विकटताको कारण यहाँका बाटाघाटा, पुल पुलेसा तथा भौतिक पुर्वाधार विकास निकै ओझेलमा परेका छन् ।’ गाउँपालिका प्राकृतिक दृष्टिकोणले निकै आर्कषक र भरिपुर्ण भएतापनि त्यसको पुर्ण सदुपयोग र संरक्षण हुन नसकेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकालाई बीच भागबाट चिरेर बगिरहेको राप्ती नदीले बर्षेनी ठुलो धनजनको क्षति गरिरहेको छ, भने कटान तथा पटानको समस्या पनि त्यति नै विकराल रुपमा रहेका छन् ।


गाउँपालिकाको सिमित साधन र स्रोतले मात्र यि असिमित तर, अति आवश्यक समस्याहरुको समाधान र सम्बोधन गर्न नसकिने भएकाले मुख्यमन्त्रीको ध्यानाकर्षण गराइएको गाउँपालिका अध्यक्षले बताए । ‘यो क्षेत्र पर्यापर्यटन, उद्योग, कल कारखाना सञ्चालन, प्राकृतिक साधन स्रोतको अपार उपलब्धताका दृष्टिकोणले पनि समृद्धिको सम्भावना बोकेको क्षेत्र हो, तथापी, यसक्षेत्रको भौतिक पुर्वाधारमा विकास नहुँदा यहाँका जनताले निकै सास्ती खेप्नु परेको छ ।’ गाउँपालिकाको शैक्षिक, सामाजिक, भौतिक आर्थिक विकासका लागि मुख्यमन्त्रीको पहल कदमीबाट सम्बोधन हुने आशा र विश्वास गरिएको उनले बताएका छन् । सो क्रममा गाउँपालिका उपाध्यक्ष धनीकुमारी खत्री, वडा अध्यक्ष खुम बस्नेत लगायत उपस्थित भएको गाउँपालिका अध्यक्षका स्वकिय सचिव सन्तोष चौधरीले जानकारी दिएका छन् ।

Womui
Womui