समुद्रको बीचमा डुँगा अड्किंदा ४९ दिन भोकभोकै बाँच्न सफल

44

बिबिसी

काठमाडौं, असोज १० । अन्जान समुन्द्रको बीचमा एउटा फुटेको डुंगाभित्र ४९ दिनसम्म खाना र पानीविना रहँदा के तपाइँलाई ‘लाइभ अफ पाइ’ वा यस्तै अन्य फिल्मको सम्झना दिलाउँदैन? यो कुनै फिल्म होइन, यथार्थ हो ।एक १८ वर्षका युजा आल्दी नोवेल आदिलांग जुलाई महिनामा इन्डोनेसियाको समुन्द्री तटबाट करिब १२५ किलोमिटरको दूरीमा रहेको एक ‘फिसिङ हट’ अर्थात् माछा समात्न बनाइएको झुपडीमा रहेको डुंगामा बसेका थिए । त्यसै बखत चलेको ठूलो हावाहुरीका कारण डुंगा बाँधिएको डोरी चुँडिन पुग्छ। जसको नतिजा आल्दी बसेको झुपडी असन्तुलित हुन्छ र हजारौं किलोमिटर परको गुआम भन्ने ठाउँमा गएर रोकिन्छ । आल्दी जिउँदै रहने सम्भावना निकै कम थियो। तर भाग्यको खेला, पनामाको एक जहाजले उनलाई ४९ दिनपछि सुरक्षित उद्दार गर्छ ।

आल्दी इन्डोनेसियाको सुलावेसी द्वीप समूहमा बस्ने युवा हुन् जो इन्डोनेसियाको एक ‘रोम्पाँन्ग’ मा काम गर्थे। रोम्पाँन्ग भनेको माछा समात्ने एक किसिमको डुंगा हो, जुन विनाकुनै पाइडल इन्जिनको सहायतामा चल्ने गर्छ ।इन्डोनेसियाको ‘जकार्ता पोस्ट’ अखबारले छापेको रिर्पोट अनुसार, आल्दीको काम भनेको डुंगामा रहेको खास किसिमको बत्ति बाल्ने थियोे, जसको कारण माछा डुंगातर्फ आर्क्षित हुन्थ्यो। माछा समात्न बनाइएको त्यो झुपडीमा डुंगालाई डोरीको सहारामा चलाउने गरिन्थ्यो ।जुलाई १४ मा जब ठूलो हावा लाग्यो र आल्दीको डुंगा अनियन्त्रित भयो, त्यो समयमा उनीसँग थोरै मात्रै खाने कुरा रहेको थियो । सधैं माछा लिन आउने मानिसले उनका लागि स्वच्छ पानी र खाने कुरा ल्याउने गर्थे जुन त्यस दिन हुन सकेन ।

यस्तो स्थितिमा आल्दीले हिम्मतका साथ समुन्द्रबाट माछा पक्डिएर डुंगामा रहेको बत्तिको सहायताले ती माछा पोल्दै खाएर आफ्नो जीवन रक्षा गरे । तर उनले त्यहाँ पानीको व्यवस्था कसरी गरे भन्ने कुरा अझै थाहा छैन। जापानको ओसाकामा रहेका इन्डोनेसियाका राजदूत फजर फिरदौसले ‘द जकार्ता पोस्ट’ लाई दिएको अन्तर्वार्तामा आल्दी ४९ दिनसम्म पूरै त्रास र क्रन्दनमा रहेको बताएका छन् ।

कसैको नजर गएन…

फजर फिरदौसले बताए अनुसार, आल्दीले जब कुनै ठूलो जहाज देख्थे, उनको मनमा एक खालको आशा जागेर आउँथ्यो । उनी भएको ठाउँबाट १० भन्दा धेरै जहाज गए पनि उनीमा कसैको न नजर पुग्यो न कुनै जहाज रोकियो ।आल्दीकी आमाले समाचार संस्था एएफपीसँग उनलाई आफ्नो छोरा हराएको खबर कसरी थाहा भयो भन्ने बताएकी छन् । उनले भनिन्, ‘आल्दीका हाकिमले मेरो श्रीमानलाई छोरो हराएको बताए। हामीले सबै कुरा भगवान भरोसामा छाडिदिएर उसको कुशलताका लागि पुकार मात्रै गरिरयौ ।’

अन्ततः एक जहाज रोकियो…
अगस्ट ३१ मा आल्दीले आफ्नो नजिकबाट एक पनामा जहाज गएको देखे अनि आपतकालीन रेडियो सिग्नल पठाए। त्यसपछि जहाजका क्याप्टेनले गुआमको कोस्टगार्डसँग सम्पर्क गरे। कोस्टगार्डले आल्दीलाई उनको गन्तव्य जापानसम्म लैजाने जहाजको क्रुलाई निर्देशन दिए । यो जानकारी ओसाकामा रहेका इन्डोनेसियाका कन्सुलेट जनरलले आफ्नो फेसबुक पेजमा दिएका छन् ।

खुसीको माहोल

आल्दी ६ सेक्टेम्बरमा जापान पुगे र त्यसको दुई दिनपछि इन्डोनेसियातर्फको उडान लिए। त्यसपछि उनकोे परिवारका सदस्यसँग भेट भयो। प्राप्त समाचारअनुसार उनको स्वास्थ्य अवस्था राम्रो रहेको छ। आल्दीकी आमा भन्छिन्, ‘अब ऊ फर्किएर आयो। सेप्टेम्बर ३० तारिकमा उसको जन्मदिन हो, अब ऊ १९ वर्षको हुनेछ। हामी खुसी मनाउने तयारीमा छौं ।’

Womui
Womui