एयर एसियाको २५ करोड बक्यौता, बक्यौता उठाउन त्रिभुवन विमानस्थल किन लचक ?

63

छिनछिन खबर
काठमाडौं,असोज ८ । सबैभन्दा सस्तो मूल्यमा मलेसियाको उडान गर्दै आएको अन्तर्रा्ष्ट्रिय वायुसेवा कम्पनी एयर एसिया एक्सले त्रिभुवन विमानस्थल नागरिक उड्डयन प्राधिकरणलाई २५ करोड रुपैयाँ तिर्न बाँकी छ । तर उक्त बक्यौता तिरिनसक्दै उक्त विमान कम्पनीले दुई वर्षका लागि नेपालबाट हुँदै आएको उडान बन्द गर्ने निर्णय गरिसकेको छ ।

लामो समयदेखि करोडौँ बक्यौता तिर्न अटेरी गर्दा पनि त्रिभुवन विमानस्थल नागरिक उड्डयन प्राधिकरणले एयर एसियामाथि कुनै एक्सन लिन सकेको छैन । बरु विमानस्थलको लचकताका कारण करोडौँ बक्यौता राखेर एयर एसियाले त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल छाड्ने भएको हो ।नेपालबाट मलेसिया आवतजावत गर्ने यात्रुको सङ्ख्यामा कमी आएको भन्दै अक्टोबर १ अर्थात असोज १५ गतेबाट एयर एसियाले उडान बन्द गर्ने सूचना त्रिभुवन विमानस्थललाई दिइसकेको छ ।अब उडान बन्द गरेपछि बक्यौता कसरी उठाउनुहुन्छ ? त्रिभुवन विमानस्थल नागरिक उड्ययन प्राधिकरणका महाप्रवन्धक राजकुमार क्षेत्री भन्छन् ‘एयर एसियासँग अब पेनाल्टीसहित २५ करोड असुल्न बाँकी छ । अन्तर्रा्ष्ट्रिय मञ्चमा लेखेर पनि पैसा त निकाल्छौँ ।’

करोडौँ रकम असुल्न बाँकी हुँदा पनि त्रिभुवन विमानस्थल नागरिक उड्डयन प्राधिकरणले एयर एसियाको जहाज रोक्ने विकल्प हुँदाहुँदै पनि त्यस्तोखाले एक्सन लिन आनाकानी गरिरहेको छ । दुबई, हङकङलगायतका मुलुकमा त्यसरी बक्यौता राखेमा त्यहाँको अथोरिटीले तत्काल जहाज रोकिदिन्छ ।बक्यौता रकम समयमा नदिए जहाज रोक्नेबाहेक अर्को विकल्प नहुने कुरा महाप्रवन्धक क्षेत्री स्वीकार्छन् । तर एयर एसियाको हकमा जहाज रोक्ने काम नगरेका क्षत्रीले १–२ दिनमा साढे ५ करोड नदिए जहाज रोक्ने बताए । उनले भने, ‘एयर एसियाले १–२ दिनमा साढे ५ करोड नल्याए जहाज रोकिन्छ, अरू विकल्प छैन ।’एयर एसियाले आधिकारिक बिक्री प्रतिनिधि (जीएसए) परिवर्तन गर्नका लागि पनि दुई वर्षका लागि उडान बन्द गर्ने निर्णय गरेको बताइएको छ ।

कतिपय बिमान कम्पनीहरूलाई सामान्य बक्यौता हुँदा पनि ताकेता गर्र्दै आएको त्रिभुवन विमानस्थल नागरिक उड्डयन कार्यालयले गल्फ एयरसँग ८ वर्ष पहिलेदेखिको २ करोड ५० लाख बक्यौता असुल गर्न सकेको छैन । सिम्रिक एयरले त्रिभुवन विमानस्थललाई ८५ लाख बक्यौता तिर्न बाँकी छ ।घरेलु उडान कम्पनी सौर्य एयरलाइन्सले प्रधिकरणलाई २ करोड २० लाख तिर्न बाँकी छ । लामो समयदेखिको बक्यौता तिर्न आनाकानी गरेको सौर्य एयरलाइन्सलाई पनि आफूले चेतावनी दिएको महाप्रवन्धक क्षेत्री दाबी गर्छन् ।‘गल्फ र सौर्य दुवैलाई पत्राचार गरेको छु, कुनै सहुलियत दिन्न’ उनले भने, ‘अब पनि बक्यौता तिर्न विलम्ब गरेमा जहाज रोकिदिन्छु ।’विमान कम्पनीहरूले त्रिभुवन विमानस्थललाई ल्यान्डिङ, पार्किङ र नेभिगेसन चार्जसमेत गरी मासिक लाखौँ राजस्व बुझाउनुपर्छ । कतिपय विमान कम्पनीहरूले उडानको सङ्ख्या हेरेर मासिक ४ करोडसम्म बुझाउँदै आएका छन् ।

Womui
Womui