आर्थिक गणनाः काठमाडौंमा सबैभन्दा बढी र मनाङमा सबभन्दा कम रोजगारी

47

छिनछिन खबर
काठमाडौं, भदौ ३१ । नेपालमा ९ लाख २२ हजार प्रतिष्ठानमा ३४ लाखले रोजगारी पाएको देखिएको छ । केन्द्रीय तथ्यांक विभागले पहिलो पटक राष्ट्रिय आर्थिक गणना २०७५ को प्रारम्भिक तथ्यांक सार्वजनिक गर्दै देशभर गरेर ९ लाख २२ हजार ४४५ व्यवसायिक प्रतिष्ठान रहेको र त्यसमा ३४ लाख ८ हजार ७४६ नेपालीले रोजगारी पाएका छन् । जसमा पुरुषको संख्या २० लाख ४४ हजार ९८९ रहेको छ भने महिलाको संख्या १३ लाख ६३ हजार ७५७ रहेको छ । केन्द्रीय तथ्यांक विभागले आर्थिक तथ्यांकको आधारको रुपमा विभिन्न प्रकारका उद्योग, व्यवसाय, संघसंस्था आदि प्रतिष्ठानहरु (आर्थिक एकाइहरु) को विवरण संकलन गर्ने उद्देश्यले आर्थिक गणना गरेको थियो ।

 

बैशाख १ देखि सुरु भएको तथ्यांक संकलन २०७५ साल वैशाख १ गते देखी जेष्ठ ३१ गते सम्म चलेको थियो । विभागले देशका ७७ जिल्लामा नै आर्थिक गणना कार्यालयहरु स्थापना गरी आर्थिक गणनाको देशव्यापी रुपमा तथ्यांक संकलनको कार्यक्रम सञ्चालन गरेको थियो । नेपालमा सञ्चालित वा क्रियाशील कृषि, वन तथा माछापालन व्यवसाय (दर्ता भएकामात्र), खानी तथा उत्खनन् औद्योगिक उत्पादन विद्युत्, ग्यास, वाफ तथा वातानुकुलित आपुर्ति पानी आपुर्ति, ढल, फोहर व्यवस्थापन तथा प्रशोधन क्रियाकलाप निर्माण थोक तथा खुद्रा व्यापार, मोटर गाडी, मोटरसाइकलको मर्मत यातायात तथा गोदाम आवास सुविधा तथा खाना व्यवस्थाका क्रियाकलाप सूचना तथा सञ्चारस वित्तीय तथा वीमा सम्बन्धि क्रियाकलाप घरजग्गा कारोबारका क्रियाकलापहरु पेशागत, वैज्ञानिक तथा प्राविधिक क्रियाकलापहरु प्रशासनिक तथा सहयोगी क्रियाकलापहरु शिक्षा मानव स्वास्थ्य तथा सामाजिक कार्यका क्रियाकलापहरु कला, मनोरञ्जन तथा मनोविनोद क्रियाकलापहरु र अन्य सेवा क्रियाकलापहरु सञ्चालन गर्ने प्रतिष्ठानहरुलाई यस गणनामा समेटिएको थियो । एउटा व्यवसायिक प्रतिष्ठानले औसतमा ३.७ जनालाई रोजगारी दिएको देखिन्छ ।

प्रदेश अनुसार सबैभन्दा बढी व्यवसायिक प्रतिष्ठान ३ नम्बर प्रदेशमा रहेका छन् । ३ नम्बर प्रदेशमा २लाख ८२ हजार ५६ प्रतिष्ठानमा ११ लाख ९० हजार ७२१ जनाले काम पाएका छन् । यस्तै सबैभन्दा कम प्रतिष्ठान रहेको कर्णाली प्रदेशमा ४२ हजार ८१७ प्रतिष्ठानमा १ लाख ३२ हजार ४२५ जनाले काम पाएका छन् । यस्तै १ नम्बर प्रदेशमा १ लाख ६८ हजार ४३४ प्रतिष्ठान छन् भने ५ लाख ८० हजारले काम पाएका छन् । २ नम्बरमा १ लाख १७ हजार ५८८ प्रतिष्ठान रहेकोमा ४ लाख २४ हजार २६७ ले काम पाएका छन् । यस्तै गण्डकी प्रदेशमा १ लाख ६८८ वटा प्रतिष्ठान रहेकोमा ३ लाख ४१ हजार ८१८ ले रोजगारी पाएको देखिन्छ । ५ नम्बरमा १ लाख ४७ हजार ८२९ प्रतिष्ठान रहेकोमा ५ लाख २७ हजार ९६० जनाले काम पाएका छन् । ७ नम्बर प्रदेशमा ६२ हजार ९७० प्रष्तिठान छन् भने २ लाख ११ हजार ५५५ ले काम पाएका छन् । जिल्लाहरुमा सबैभन्दा बढी व्यवसायिक प्रतिष्ठान काठमाडौंमा १ लाख २३ हजार ९९४ छ । काठमाडौं जिल्लामा ५ लाख ७५ हजार ३ जनाले सो व्यवसायिक प्रतिष्ठानमा काम गरेका छन् । ४ वटा प्रदेशमा भएको प्रतिष्ठान र त्यहा सिर्जना भएको रोजगारीभन्दा काठमाडौंमा रोजगारी सिर्जना बढी छ । मनाङ जिल्लामा ४ सय ८७ प्रतिष्ठान छ भने २ हजार ३७५ ले रोजगारी पाएका छन् ।

Womui
Womui