उपराष्ट्रपति नन्दबहादुर पुन असोज ३ गते चीन जाने

243

छिनछिन खबर
काठमाडौं, भदौ ३० । उपराष्ट्रपति नन्दबहादुर पुन ‘१७औँ चीन पश्चिम अन्तर्रा्ष्ट्रिय मेला’मा सहभागी हुन आगामी असोज ३ गते चीन जाने भएका छन् ।चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) का सिचुवान प्रान्त सचिव फङ छिङह्वा र चिनियाँ जनसरकारका सिचुवान प्रान्तका गभर्नर यिन लिलेको औपचारिक निमन्त्रणामा पुन चीन जान लागेका हुन् । उपराष्ट्रपति पुनले सिचुवान प्रान्तको राजधानी छेन्दुमा आगामी असोज ४ गतेदेखि शुरु हुने उक्त मेलाको उद्घाटन समारोहलाई नेपालको तर्फबाट सम्बोधन गर्नेछन् ।

असोज ५ गते अन्तर्रा्ष्ट्रिय मेलाका अवसरमा छेन्दुमा आयोजित ‘डिजिटल फोरम’लाई समेत सम्बोधन गर्ने कार्यक्रम रहेको प्रेस संयोजक मनोज घर्तीमगरले जानकारी दिए ।चीनमा रहँदा चीन सरकारका उच्च पदाधिकारी, चिनियाँ कम्युनिस्ट पार्टीका सिचुवान प्रान्तका पदाधिकारी, सरकारी प्रतिनिधिसँग पनि भेट गर्ने कार्यक्रम रहेको बताइएको छ ।

भ्रमण टोलीमा उपराष्ट्रपतिकी धर्मपत्नी हस्तमाली पुन, उपराष्ट्रपति कार्यालयका सचिव रामकुमार आचार्य, चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल, परराष्ट्र मन्त्रालयका प्रतिनिधि, उपराष्ट्रपतिका स्वकीय सचिवालय र सुरक्षा अधिकारीलगायत सहभागिता हुने उपराष्ट्रपतिको सचिवालयले जनाएको छ ।उपराष्ट्रपति पुन औपचारिक भ्रमण सकी आगामी असोज ८ गते स्वदेश फर्कनेछन् ।

Womui
Womui