डोल्पा पठाउन लागिएको खाद्यान्न सुवागढी नाकामै थन्कियो

108

छिनछिन खबर
रसुवा, भदौ ३० । नेपाल खाद्य संस्थान तथा नेसनल ट्रेडिङ लिमिटेडले दुर्गम जिल्लाका लागि पठाएको खाद्यान्न सामग्री रसुवागढी नाकामा थन्किएको छ ।डोल्पा जिल्लाको तिन्जे डिपोका लागि पठाएको चामल तथा नुन र अन्य निर्माण सामग्री ४० दिनदेखि रसुवागढी नाकामा थन्किएको हो । ४० दिनअघि भन्सार गरी केरुङ लैजान लागिएको सामग्री चीनतर्फको भन्सार कार्यालयले एजेन्टमार्फत लान नमिल्ने बताएपछि रसुवागढी नाकामै थन्किएको निकासीकर्ता रामशरण देउजाले बताए ।

चीन सरकारले नै जिम्मा लिई कन्टेनरको प्रयोग गरी लान अनुरोध गरेपछि कन्टेनरको अभावमा लान नसकिएको उनको भनाइ छ । विगतमा दुर्गमका लागि खाद्यान्न वस्तुहरुको ढुवानी गर्दा खुल्ला रुपमा लाने व्यवस्था भए पनि अहिले कन्टेनरको प्रयोग गर्नुपर्ने नयाँ व्यवस्थाले रोकिन पुगेको बताइएको छ ।

टिमुरेमा भण्डारण
चीन सरकारले अनुमति नदिएपछि व्यापारीले ती सामग्री प्रहरी चौकी टिमुरेमा भण्डारण गरेका छन् । ४० दिनसम्म रसुवागढी नाकामा थन्किएको चामल र नुन शुक्रबार प्रहरी चौकीमा भण्डारण गरिएको हो ।डोल्पाका लागि ४ हजार ७ सय क्विन्टल चामल र २ हजार ७ सय क्विन्टल नुन लैजान लागेको बताइएको छ । त्यस्तै १० वटा कन्टेरमा विद्यालय, पुल र स्वास्थ्य चौकीको सामग्री रहेको छ । त्यस्तै पाँच वटा कन्टेनरमा भने डिजेल छ ।केरुङबाट डोल्पामा सामग्री पुर्‍याउन करिब एक साता लाग्छ । केरुङबाट चिनियाँ कन्टेनर वा टेलरको प्रयोग गर्नुपर्छ ।चीन सरकारले नै जिम्मा लिने गरी कन्टेनरको प्रयोग गर्न आग्रह गरिएको तर सामग्री लैजान पर्याप्त कन्टेनर नरहेको देउजाले बताए ।

Womui
Womui