न्यायका लागि भौतारिँदै निर्मला पन्तका बुवा, आमा

196

प्रशिद्धिका खड्का
काठमाडौं, भदौ २८ । कन्चपुरमा बलात्कारपछि हत गरिएकी निर्मला पन्तका बुवा, आमा न्याय खोज्दै काठमाडौंसम्म आइपुगेका छन् । जिल्लामा रहँदा प्रहरी, प्रशासनले न्याय दिलाउन खासै सहयोग नगरेको ठानेपछि उनीहरू राजधानी पुगेका हुन् । यतिखेर उनीहरू राजधानीमा रहेका विभिन्न निकायमा पुगेर न्यायका लागि हारगुहार मागिरहेका छन् ।। अधिकारकर्मीहरूको साथ लागेर काठमाडौं आएको निर्मलाका बुवा यज्ञराज र आमा दुर्गा दोषीलाई जसरी पनि कारबाही दिलाउने अठोटमा छन् ।

काठमाडौंमा उनीहरुले उच्च पदस्थलाई भेट्ने प्रयाससमेत गरिरहेका छन् । आमा दुर्गाले छोरी खोज्दै बम दिदीबहिनीको घरमा पुग्दा उनीहरूको र त्यसपछि प्रहरीको व्यवहारले सर्वाधिक चित्त दुःखाएको बताइन् । निर्मला बमको घरबाट हराएको र जवाफ पनि राम्रो सुन्न नपाएकाले उनलाई त्यो घरमाथि शंका छ । तर केही दिनसम्म थुनामा राखेका ती दिदीबहिनीलाई पनि प्रहरीले छाडिदिएपछि दुर्गा मर्माहत भएको बताउँछिन् । उनी ती दिदीबहिनीलाई अझै निगरानीमा राखेर अनुसन्धान गरियोस् भन्ने माग गर्छिन् । ‘मेरी छोरी सुरुमा त्यहीँ घरमा गएकी हो’, उनी भन्छिन्,’ ‘त्यसैले शंका हुनु स्वाभाविक हो । भलै उनीहरु नै घटनामा संलग्न नभएका पनि हुनसक्छन् ।’

घटना ुसाउन १० गते घटेपनि रोशनीले ९ गते साँझ नै निर्मलालाई बोलाएको दुर्गा बताउँछिन् । निर्मलालाई बोलाउने निहुँमा चटपटे खुवाएकी पनि रहिछन् । उनीहरुबाट राम्रो जवाफ नपाउनु तर घटना पनि घट्नुसँग बम दिदीबहिनीमाथि शंका छ, दुर्गालाई । नियतवश नै निर्मलालाई बोलाइएको होला जस्तो भन्ने लाग्छ उनलाई । स्थानीय मञ्जु भट्टले जिल्ला प्रहरी कार्यालयमा फोनमार्फत निर्मला हराएको खबर गरिदिएकी थिइन् । तर प्रहरीले रुखो जवाफ फर्कायो । उल्टै प्रहरीले हकारेको उनी बताउँछिन् । ’बिहान ११ बजे हराएको मान्छेलाई यतिखेर खोज्ने हो त’, प्रहरीले दिएको जवाफ सम्झेर दिक्क हुँदै उनले भनिन् ’प्रहरीले नै त्यस्तो भनेपछि हामीले कसको आशा गर्ने ?’

प्रहरीले हतारहतारमा प्रमाण मेटाएको परिवारलाई पटक्कै चित्त बुझेको छैन । अझ निर्मला हराएकै दिन बेलुका प्रहरीलाई सम्पर्क गर्दा दिएको जवाफले गर्दा प्रहरीमाथि पनि शंका छ । प्रहरीलाई यो घटनाबारे पहिल्यै थाहा भइसकेर ढाकछोप गर्ने नियतले त्यस्तो गरेको हो कि भन्ने दुर्गाको आंशका छ ।

Womui
Womui