सर्वोच्च फर्के दीपकराज जोशी, उनी भन्छन्ः म न्यायाधीशका लागि अयोग्य भएको होइन

183

छिनछिन खबर
काठमाडौ, भदौ २६ । सर्वोच्च अदालतमा २८ औं प्रधानन्यायाधीशका रूपमा ओमप्रकाश मिश्रले पद ग्रहण गरेका छन् । यसअघि प्रधानन्यायाधीशमा अस्वीकृत भएका दीपकराज जोशी पनि न्यायाधीशका रूपमा सर्वोच्च फर्केका छन् । जोशीले पदबाट राजीनामा गर्लान् भन्ने धेरेैको अनुमान विपरित उनी मिश्रको स्वागत गर्दै सँगै काम गर्नुपर्छ भन्दै सर्वोच्च फर्केका हुन् । जोशी सर्वोच्च फर्केसँगै राजीनामा र महाअभियोगबारे पनि चर्चा हुन थालेको छ । तर, आफूभन्दा कनिष्ठ न्यायाधीश प्रधानन्यायाधीश भएपछि नैतिकताको आधारमा जोशीले पदबाट राजीनामा गर्लान् भन्ने धेरैको अनुमान र आशंका गलत सावित भयो ।


कानुनका जानकारहरूका अनुसार आफूभन्दा कनिष्ठ न्यायाधीश प्रधानन्यायाधीश भइसकेको र संसदीय सुनुवाइ समितिबाट प्रधानन्यायाधीशका लागि आफ्नो नाम अस्वीकृत भइसकेको अवस्थामा जोशीले राजीनामा गर्नु सहज विकल्प थियो । तर, जोशी राजीनामा दिने मुडमा छैनन् । राजीनामा बारे सोधिएको प्रश्नमा जोशीले आफू प्रधानन्यायाधीशका लागि पो अयोग्य भएको न्यायाधीशका लागि त्यसो नभएको बताए । जोशी मंगलबार ११ बजेतिर कार्यालय पुगेका थिए । तर सत्तारुढ दलका नेताहरुले प्रष्ट नखुलाएपनि अझै पनि जोशीले नैतिकताको आधारमा राजीनामा गरिदिए आफुहरुलाई सहज हुन्थ्यो भन्ने मनस्थितिमा छन् ।

प्रधानन्यायाधीशमा नयाँ नेतृत्व आइसकेपछि जोशीले न्यायाधीशबाट राजीनामा नदिए पनि न्यायसम्पादनमा त्यति धेरै ठूलो असर या प्रभाव नपर्ने बताइन्छ । संसदीय सुनुवाइले मिश्रको नाम सोमबार दिउँसो अनुमोदन गरेको हो । लगत्तै साँझ राष्ट्रपतिबाट शपथ लिएर सोमबारै सर्वोच्चमा पदभार ग्रहण गरिसकेका मिश्रको पदभार ग्रहणमा बिदामा बसेका जोशी स्वागत गर्न आफै उपस्थित भएर सर्वोच्चका अन्य न्यायाधीश र कर्मचारीलाई आश्चर्यमा पारेका थिए ।

Womui
Womui