कामु प्रधानयायाधीश मिश्रको सार्वजनिक सुनुवाई सोमबार

136

छिनछिन खबर
काठमाडौं , भदौ २२ । प्रधानन्यायाधीशमा प्रस्तावित कामु प्रधानयायाधीश ओमप्रकाश मिश्रको सार्वजनिक सुनुवाई आगामी सोमबार हुने भएको छ । शुक्रबार सिंहदरबारमा बसेको संसदीय सुनुवाई विशेष समितिको बैठकले प्रधानन्यायाधीशमा प्रस्तावित मिश्रको सार्वजनिक सुनुवाई भदौ २५ गते सोमबार गर्ने निर्णय गरेको हो ।

बैठकले आगामी आईतबार प्रधानन्यायाधीशमा प्रस्तावित कामु प्रधानन्यायाधीश मिश्र माथि उजुरी दिएका उजुरीकर्ताहरुलाई छलफलको लागि बोलाएको छ । जम्मा ४ वटा उजुरी परेकोमा एउटा उजुरी उजुरीकर्ताले नै फिर्ता लिन चाहेपछि फिर्ता गरिदिने निर्णय पनि बैठकले गरेको समितिका जेष्ठ सदस्य लक्ष्मणलाल कर्णले जानकारी दिए ।

संवैधानिक परिषदले भदौ ७ गते सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश मिश्रलाई प्रधान्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको थियो । प्रधानन्यायाधीशमा प्रस्तावित दिपकराज जोशीलाई संसदीय सुनुवाई विशेष समितिले अस्वीकृत गरेपछि संवैधानिक परिषदले सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश मिश्रलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको हो । सो सिफारिसलाई संसदीय सुनुवाई विशेष समितिले अनुमोदन गरे राष्ट्रपति विद्या भण्डारीले मिश्रलाई प्रधानन्यायाधीशमा नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

यसैबीच बैठकले सबैधानिक परिषद्बाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा सिफारिस भएका नविनकुमार घिमिरेमाथि सार्वजनिक उजुरीको आव्हान गरेको छ । १० दिनभित्र उजुरी दर्ता गराउन सार्वजनिक सुचना प्रकाशित गर्ने निर्णय बैठकले गरेको जेष्ठ सदस्य कर्णले जानकारी दिए ।

भदौ २० गते बुधबार बसेको संवैधानिक परिषदको बैठकले कार्यबहाक प्रमुख आयुक्त घिमिरेलाई प्रमुख आयुक्तमा सिफारिस गर्ने निर्णय गरेको थियो । घिमिरे २०७१ सालमा अख्तियारको आयुक्तमा नियुक्त हुनु भएको थियो । तत्कालीन प्रमुख आयुक्त दीप बस्न्यातलाई सर्वोच्च अदालतले अयोग्य ठहर गरेबाट दोस्रो वरियतामा रहेका घिमिरेले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यबहाक प्रमुख आयुक्तको जिम्मेवारी सम्हाल्दै आएका छन् ।

Womui
Womui