पुष्पकमल दहाल प्रचण्डको भारत भ्रमण

44

छिनछिन खबर
काठमाडौं, भदौ २१ ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्ड बिहीबार भारत जाँदैछन् । भारत सरकारको निमन्त्रणामा प्रचण्ड भारत जान लागेका हुन् ।प्रचण्डको सचिवालयले बिहीबार साढे ३ बजे एयर इन्डियाको विमानमार्फत् उनी भारत जान लागेको जानकारी दिएको छ । उनको भ्रमण टोलीमा पत्नी सीता दाहालसँगै छोरी गंगा, स्वकीय सचिव जोखबहादुर महरा र प्रेस सहयोगी सूर्य्किरण शर्मा रहनेछन् ।


प्रचण्डको भ्रमण भारतसँगको सम्बन्ध सुधारमा केन्द्रित हुने बताइएको छ । उनले यसका लागि विभिन्न राजनीतिक भेटघाट तथा छलफल गर्नेछन् ।प्रचण्डको सचिवालयले दिएको जानकारी अनुसार, प्रचण्ड दिल्ली पुगेलगत्तै बिहीबारदेखि नै भेटघाट तथा छलफलमा व्यस्त हुनेछन् । उनी आजै दूतावासले आयोजना गरेको छलफल कार्यक्रममा सहभागी हुनेछन् ।शुक्रबार उनले इन्डियन काउन्सिल अफ वर्ल्ड अफेयर (आईसीडब्लूए) को कार्यक्रममा सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रचण्डको भ्रमण सेड्युलमा भारतीय विदेश मन्त्री सुष्मा स्वराजसँग लन्च मिटिङ तालिका पनि छ । त्यसपछि उनले बुद्धीजीवी र पत्रकारसँग पनि छलफल तथा भेटघाट गर्ने तय भएको छ ।प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगै त्यहाँका मन्त्रीहरुसँग महत्त्वपूर्ण भेटघाट गर्ने तयारी छ । प्रचण्डले मोदी र त्यहाँका मन्त्रीसँग गर्ने भेटघाटलाई चासोका साथ हेरिएको छ ।प्रचण्ड भदौ २४ गते स्वदेश फर्कनेछन् । नेपाल फर्किएको ६ दिनपछि उनी चीन भ्रमणमा जाने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।

Womui
Womui