दसैंको टिकट बुकिङ २४ भदौदेखि

81

छिनछिन खबर
काठमाडौं, भदौ १८ । आउँदो दसैंका लागि अग्रिम टिकट बुकिङ यही २४ गतेबाट खुल्ने भएको छ । दसैं मनाउन राजधानीबाहिर जाने सर्वसाधारणको सहजताका लागि सरकारले यस्तो व्यवस्था गर्न लागेको हो । यातायात क्षेत्रमा व्यवसायीको एकाधिकार हटाउन चैत १८ मा जारी गरेको नयाँ निर्देशिकापछि अग्रिम बुकिङ टिकट खोल्न लागिएको हो । सिन्डिकेट हटेपछि पुराना यातायात समिति हटिसकेका कारण उपत्यका बाहिरिने गाडीको संख्यामा केही कमी हुने अपेक्षा गरिएको छ ।


उपत्यकाका ३ जिल्लामा अध्ययन, व्यापार र विभिन्न पेशा, व्यवसाय गरी बसेका करिब २० लाख सर्वसाधारणमध्ये धेरैजसो दसैं मनाउन बाहिरिने अनुमान गरिएको छ । यातायात व्यवसायीले भने २४ गतेबाट सरकारले खोल्न लागेको अग्रिम बुकिङ टिकटबारेमा थप छलफल हुनुपर्ने माग राखेका छन् । सिन्डिकेट हटाए पनि यातायात व्यवसायीलाई स्वतन्त्र रुपमा सवारी सञ्चालन गर्न अप्ठ्यारोे पारेको भन्दै उनीहरुले असन्तुष्टि जनाएका छन् ।

सिन्डिकेट हट्नुअघि काठमाडौंबाट विभिन्न जिल्लाका लागि छुट्ने छोटो तथा लामो दूरीका सार्वजनिक सवारीको संख्या करिब ३ लाख ५० हजारमध्ये समिति नवीकरण नभएका कारण केही यातायात समितिहरु खारेज भएकाले त्यस्ता समितिले दसैंमा गाडी चलाउने कि नचलाउने भन्नेमा अन्योल देखिएको छ ।

Womui
Womui