सरकार र चिकित्सकबीच तीन बुँदे सहमति, मन्त्रीद्वारा संहिता संशोधनको आश्वासन

115

छिनछिन खबर
काठमाडौं, भदौ १९ । नयाँ मुलुकी ऐनको फौजदारी संहिताको उपचारसम्बन्धी व्यवस्था संशोधन गर्न माग गर्दै अस्पताल नै बन्द गरेर आन्दोलनमा उत्रिएका चिकित्सकले आन्दोलन स्थगित गरेका छन् । नेपाल चिकित्सक संघ र सरकारबीच तीन बुँदे सहमति भएपछि उनीहरूले एक साताका लागि आन्दोलन स्थगित गरेका हुन् । आन्दोलन स्थगित भएसँगै मंगलबारदेखि अस्पतालका सबै सेवा खुला भएका छन् ।


स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादवसँग भएको वार्तामा मुुलुकी अपराध (संहिता) को दफा २३० को उपदफा २ खारेज गर्न सरकार सहमत भएको बताइएको छ । यस्तै, परिच्छेद १९ मा रहेको सम्पूर्ण सजाय तथा दण्ड सम्बन्धित काउन्सिलको छानबिन समितिको प्रतिवेदनका आधारमा निर्णय गर्ने र उजुरी दिने हद म्याद ६ महिना कायम गर्ने र डिउटीमा रहेका बेला स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामा गालीगलौज, हातपात, तोडफोड, आगजनी गर्नेलाई बिनाधरौटी हिरासतमा राख्ने सहमति भएको छ ।

स्वास्थ्य राज्य मन्त्री यादवले संसोधन प्रस्ताव संसदमा दर्ता गर्ने प्रतिबद्धता जनाएपछि तत्काललाई आन्दोलन स्थगित गरेको चिकित्सक संघले जनाएको छ ।मुलुकी अपराध (संहिता) का उपचारसँग सम्बन्धित केही प्रावधान संशोधन गर्नुपर्ने मागसहित चिकित्सकहरू आन्दोलनमा उत्रिएका हुन् ।

Womui
Womui