शैक्षिक गुणस्तर सुधार्न सामूहिक प्रतिवद्धता

172

नेपालगन्ज, भदौं १८-
खजुरा गाउँपालिका क्षेत्रभित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालयमा शैक्षिक गुणस्तर सुधारका लागि सामूहिक प्रतिवद्धता जनाइएको छ । खजुरा गाउँपालिका गाउँ शिक्षा समितिका पदाधिकारी, विद्यालय व्यवस्थापन समिति, प्रधानाध्पकहरुले सोमबार खजुरामा आयोजित एक कार्यक्रममा ३१ बुँदे प्रतिवद्धतामा हस्ताक्षर गरे । प्रतिवद्धतालाई मंगलबारदेखी नै कार्यान्वयनमा लैजान समेत उनीहरुले बताएका छन् ।

पूर्व प्राथमिक कक्षालाई मन्टेश्वरी पद्धतिको रुपमा विकास गर्ने, कक्षा कोठा शैक्षिक सामग्रीयुक्त बनाइने, एक कक्षा कोठामा ४० बढी विद्यार्थी राख्न नपाइने, शिक्षक, विद्यार्थीको पोशाक अनिवार्य गर्ने, शिक्षण सुधारको हरेक विद्यालयले अनियार्वरुपमा योजना बनाउने, विद्यार्थी, शिक्षक दुबैका लागि आचारसंहिता बनाएर लागू गर्ने, विद्यार्थी सिकाई चार्ट स्पष्ट झल्किने गरी कक्षामा टाँस्ने, भौत्तिक संरचना नभएका विद्यालयमा त्यसको विकास गर्ने, मन्टेश्वरीको हकमा खजुरा गाउँपालिकाको शिक्षा नियामावलीले तोकेको मापदण्ड कायम गर्नु पर्नेलगायतका प्रतिवद्धतामा हस्ताक्षर गरिएको छ ।

लाइसेन्स प्राप्त शिक्षकलाई मात्र छनौट गरिने र छनौट विधिमा समेत परिमार्जन गरिएको छ । माथिल्लो निकायबाट गरिएका परिपत्र हुबहु कार्यान्वयन गर्ने, झुटोे विवरण पेश गर्न नपाइने, शिक्षक, कर्मचारीको प्रोफाइल बनाई गाउँ शिक्षा समितिमा पेश गर्नुपर्ने, जथाभावी शुल्क असुली बन्द गर्नुपर्ने, अनुगमनलाई तिव्रता, उत्कृष्टलाई पुरस्कृतलगायतका बुँदामा हस्ताक्षर गरिएको हो । कार्यक्रममा शिक्षा विकास समन्वयन इकाई प्रमुख गोरखबहादुर थापाले शिक्षकहरुले पेशागत जिम्मेवारी, मूल्यमान्यता र मर्यादा पालना गरेको खण्डमा देशका भविष्यका कर्णधार विद्यार्थीको शिक्षाको गुणस्तर सुधार हुने विश्वास व्यक्त गरे । खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले गाउँपालिकामा शैक्षिक सुधारका लागि दृढताका साथ अगाडी बढेको बताए । उनले एक वर्षभित्र शैक्षिक सुधार गर्ने विद्यालयलाई अनुदान थप गरिने जानकारी दिँदै खजुरा गाउँपालिकाले यो आर्थिक वर्षमा शिक्षाको क्षेत्रमा २० करोड बजेट विनियोजन गरेको बताए ।

Womui
Womui