सकियो १८ औं एसियाली खेलकुद, चीन प्रथम, नेपाल ३३ औं स्थानमा

89

काठमाडौं, भदौ १७ (एजेन्सी) । चार वर्षपछि चीनको हान्जोउमा भेट्ने वाचासहित १८ औं एसियाली खेलकुद समापन भएको छ । इन्डोनेसियाको राजधानी जाकर्ताको गेलोरा बुङ कार्नो रंगशालामा १८ औं एसियाली खेलकुदको भव्य समापन गरियो । आइतबार भएको भव्य समारोहमा कोरियाका पप स्टार सुपर जुनियर र आइकोनले आफ्नो शानदार प्रस्तुती दिएका थिए । यस्तै भारतीय कलाकार सिद्धार्थ स्लाथियाले पनि आफ्नो प्रस्तुती दिएका थिए । यस्तै इन्डोनेसियन कलाकारहरु इसीयाना सरास्भाती, बुङगा सित्रा लेस्तारी, लिया सिभाजुथाङ, डेनाडा, डिरा सुगान्डी, जेफ्लो र अफगानले आफ्नो प्रस्तुतीमार्फत भरपुर मजा दिएका थिए ।


समापन समारोहमा एसियाली खेलकुदमा सहभागी ४५ देशका खेलाडी, अफिसियल, पत्रकार र दर्शक गरी ५५ हजार उपस्थित थिए । सहभागी देशका खेलाडी तथा अफिसियलले मार्च पास गरेका थिए । नेपालको तर्फबाट जुडो खेलाडी मनिता श्रेष्ठले झन्डा बोकेकी थिइन् ।
गत १८ अगस्टदेखि आइतबारसम्म इन्डोनेसिया र पालेङबाङमा चलेको एसियाली खेलकुदमा ४५ देशका ११ हजार ३ सय खेलाडीले ४० खेलको ४ सय ५६ स्वर्णका लागि प्रतिस्पर्धा गरेका थिए । यसपटकको एसियाली खेलकुदमा चीनले आफ्नो वर्चश्व जमायो । चीनले १ सय ३२ स्वर्ण, ९२ रजत र ६५ कास्य गरी कुल २ सय ८९ पदक जित्यो । पदक तालिकाको दोस्रो स्थानमा जापान रह्यो। जापानले ७५ स्वर्ण, ५६ रजत र ७४ कास्य गरी कुल २ सय ५ पदक हात पा¥यो ।

दक्षिण कोरियाले ४९ स्वर्ण, ५८ रजत र ७० कास्य गरी जम्मा १ सय ७७ पदक जित्न सफल भयो । चौथो स्थानमा आयोजक इन्डोनेसिया रह्यो । उसले ३१ स्वर्ण, २४ रजत र ४३ कास्य गरी कुल ९८ पदक हात पा¥यो । नेपालले भने १ रजत पदक मात्र जित्न सक्यो । नेपालले प्याराग्लाइडिङको पुरुष क्रस कन्ट्री टिम इभेन्टमा रजत जित्यो । यसअघिका एसियाली खेलकुदमा नेपालका लागि पदक जित्दै आएका तेक्वान्दो, कराते र बक्सिङले यसपटक खराब प्रदर्शन ग¥यो । नेपालले पछिल्ला ३ एसियाली खेलकुदमा १÷१ पदक मात्र जित्न सकेको छ ।
सहभागी ४५ देश मध्ये ३७ देशले मात्र पदक जित्न सफल भए । १ रजत जितेकाले नेपाल पदक तालिकाको ३३ औं स्थानमा रह्यो । सार्क राष्ट्रमा भारतले १५ स्वर्ण, २४ रजत र ३० कास्य गरी जम्मा ६९ पदक जित्न सफल भयो । भारत पदक तालिकाको आठौं स्थानमा रह्यो । एसियाली खेलकुदमा यो भारतको सबैभन्दा राम्रो प्रदर्शन हो । सार्क मुलुक श्रीलंका, बंगलादेश, भुटान र माल्दिभ्सले पदक जित्न सकेनन् ।
समारोहमा सन् २०२२ को एसियाली खेलकुद आयोजना गर्ने चीनको होन्जाउ प्रान्तका प्रमुखलाई एसियाली खेलकुदको झन्डा हस्तान्तरण गरिएको थियो ।

Womui
Womui