नेपालद्वारा ४ विकेटले सिंगापुर पराजित, छनोट सम्भावना जीवितै

35

छिनछिन खबर
काठमाडौं, भदौ १७ । मलेसियामा जारी एसिसि एसिया कप छनोटमा नेपालले सिंगापुरलाई ४ विकेटले हराउँदै दोस्रो जित निकालेको छ ।

सिंगापुरले दिएको १५५ रनको लक्ष्य नेपालले ६ विकेट गुमाउँदै २८.१ ओभरमा पुरा गरेको हो । नेपालले बलियो सुरुवात गर्दै पहिलो विकेटका लागि ५६ रनको साझेदारी गरेको थियो । तर, टिमको स्कोर ७३ रन हुँदा नेपालले महत्वपूर्ण तीन विकेट गुमायो । अनिलकुमार शाह ४३ रनमा आउट हुँदा सुवास खकुरेल १४ र कप्तान पारस खड्का ११ रनमा पेभेलियन फर्किए ।

चौथो विकेटका लागि ज्ञानेन्द्र मल्ल र दिपेन्द्रसिंह ऐरीले ४७ रनको साझेदारी गरे। तर, ज्ञानेन्द्र २९ रनमा आउट भएपछि नेपाललले १ सय १९ रनमा ४ विकेट गुमायो ।

यसअघि मलेसियाको युकेएम ओभल मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुर ४२ ओभरमा एक सय ५१ रनमा अलआउट भएको थियो ।

सिंगापुरका कप्तान चेतन ६० रन बनाएर आउट भएपछि सिंगापुरको पारी पुरै खस्किएको थियो । नेपाली बलरसँग संघर्ष गरेर उनले टिमका लागि कप्तानी पारी खेले पनि उच्च स्कोर छुन सकेनन् ।

बलिङतर्फ नेपालका सन्दिप लामिछाने र ललित राजवंशी र तीन-तीन तथा सोमपाल कामीले दुई विकेट लिए ।

यो जितसँगै नेपालले ४ खेलबाट ४ अंक जोडेको छ। समान खेलबाट ६-६ अंक जोडेका युएई र ओमान शीर्ष २ स्थानमा छन् भने हङकङ ४ अंकसहित तेस्रो स्थानमा छ । अब नेपाललाई फाइनल पुग्न गाह्रो परेको छ । अब अन्तिम खेलमा नेपालले हङकङलाई फराकिलो अन्तरमा हराउनुपर्नेछ भने युएई र ओमानमध्ये कुनै एकले फराकिलो अन्तरमा हराउनुपर्नेछ ।

Womui
Womui