पार्किङ शुल्क नलिने उपमहानगरपालिकाको निर्णय

122

नेपालगन्ज, भदौं ११-
नेपालगन्ज उपमहानगरपालिकाले सडकमा पार्किङ गरेवापत अब कुनैपनि शुल्क नलिने भएको छ । नेपालगन्ज उपमहानगरपालिकाले सडकमा पार्किङ गरे वापत सर्वसाधारणसँग शुल्क लिने तयारी गरेपनि हाललाई स्थगीत गरेको हो । उपमहानगरपलिकाले नगरका ५० ठाउँमा पार्किङ स्थल तोकेर शुल्क लिने तयारी थालेको थियो, तर नगरवासीबाट त्यसको सकरात्मक प्रतिक्रिया नआएपछि उपमहानगरपालिकाले शुल्क नउठाउने निर्णय गरेको हो ।

नेपालगन्जको धम्बोझीमा जथाभावी रुपले गरिएको पार्किङ ।

उपमहानगरपालिकाका नगर प्रमुख डा. धवल शम्शेर राणाको अध्यक्षतामा सोमबार बसेको नगर कार्यपालिका बैठकले ६ वटा विषयगत समिति पुनर्गठन, प्रवक्ता चयन, नागरिकता सिफारिस नीशुल्क गर्ने लगायतका महत्वपूर्ण निर्णय गरेको छ । बैठकले वडा नम्बर १ का वडाअध्यक्ष प्रमोद रिजाललाई उपमहानगरपालिकाको प्रवक्तामा चयन गरेको छ । उप–महानगरपालिकाका तर्फबाट आधिकारिक धारणा सार्वजनिक गर्नका लागि रिजाललाई प्रवक्ता चयन गरिएको हो । उपमहानगरपालिकाको कार्यसम्पादन नियमावली २०७४ को व्यवस्था अनुसार विषयगत समिति गठन गरिएको छ । समितिमा सार्वजनिक सेवा तथा क्षमता विकास समिति, आर्थिक विकास समिती, सामाजिक विकास समिति, वातावरण तथा विपद समिति र विधयेक समिति रहेका छन् ।

नेपालगन्जको धम्बोझीमा जथाभावी रुपले गरिएको पार्किङ ।

समितिमा जिम्मेवारी बाँडफाड र संख्या भने अझैं पूर्ण गरिएको छैन । सबै खाले यातायातका साधान मार्किङसहितको पार्किङस्थलमै व्यवस्थापन गर्ने गरि जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई जिम्मेवारी दिइएको नगर प्रमुख राणाले जानकारी दिए । सडकको नाला छाडेर निश्चित सडक क्षेत्र पार्किङका लागि ब्यवस्था गरिएको छ । नगरका १९ ठाउँमा कार, जीप र २८ ठाउँमा मोटरसाइकलका लागि पार्किङ क्षेत्र छुट्याइएको उपमहानगरपालिकाले जनाएको छ । बैठकले नागरिकता सिफारिस, स्वास्थ्य उपचार सिफारिस निःशुल्क गर्ने निर्णय गरेको छ । यसअघि नागरिकता सिफारिसका लागि एक सय रुपैया लिने गरिएको थियो । वैदेशिक बाहेक अन्य छात्रवृत्ति सिफारिस पनि निःशुल्क गरिएको छ ।

राँझा विमानस्थललाई अन्तर्राष्ट्रिय बिमानस्थल बनाउन जग्गा खोजी गरि अधिग्रहण गर्न र नगरमा रहेका केही सरकारी भवन उपमहानगरपालिकामा हस्तान्तरण गर्न छानविन समिति गठन गरिएको सूचना अधिकारी शरद पौडेलले जानकारी दिए । वडा नम्बर १० का वडाअध्यक्ष विन्दुभुषण बस्नेतको संयोजकत्वमा सो समिति गठन गरिएको हो । समितिको सदस्य सचिवमा वरिष्ठ आलेप अधिकृत खिमानन्द अर्याल, वडा नम्बर १९ का वडाअध्यक्ष दिपक वर्मा, वडा नम्बर २० का वडाअध्यक्ष कृष्ण कार्की र सदस्य कौशल धोबी समितिको सदस्य रहेका छन् । यस्तै धम्बोझीमा आकाशे पुलको डिपीआर निर्माण गर्न सूचना आह्वान गर्ने पनि निर्णय गरिएको छ ।

Womui
Womui