राष्ट्रियसभाका समितिमा सभापतिको मनोनयन हुँदै

114

छिनछिन खबर
काठमाडौं, भदौ १२ । राष्ट्रियसभाका ४ विषयगत समितिका सभापति पदका लागि मनोनयन दर्ता हुँदैछ । दीगो विकास तथा सुशासन, विधायन व्यवस्थापन, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन र राष्ट्रिय सरोकार तथा समन्वय समितिका लागि सभापतिको मनोनयन हुन लागेको हो । मंगलबार अपराह्न ४ बजेसम्म मनोनयन समय तोकिएको छ । राष्ट्रियसभा सचिवालयले साढे चार बजे उम्मेदवारको सूची प्रकाशन गर्नेछ । बुधबार निर्वाचन हुने कार्यक्रम छ ।

यी हुन् सभापतिका दाबेदार
दीगो विकासका आयोजना र लक्ष्यका बारेमा छलफल गर्ने यो समितिमा १४ सदस्य छन् । राष्ट्रपतिबाट मनोनीत विमला राई पौड्याल, कालीबहादुर मल्ल र दिनानाथ शर्मा उक्त समितिमा सदस्य छन् । उक्त समितिको सभापतिमा भैरवसुन्दर श्रेष्ठ सरकारको रोजाइमा रहेका छन् भने उनीसँगै इन्दु कडरिया पनि सभापतिको लागि लबिङमा रहेकी छन ।

विधायन व्यवस्थापन समिति
अर्को महत्वपूर्ण समिति हो विधायन व्यवस्थापन समिति कानुन निर्माण र कानुनी कार्यहरुका लागि उक्त समितिले काम गर्नेछ । उक्त समितिको सभापतिको पहिलो रोजाइमा पर्शुराम मेघी गुरुङ छन् भने नन्दा चपाईलाई बनाउनुपर्ने तर्क पनि नेकपाभित्र उठेको छ । उक्त समितिमा नेपाली कांग्रेसका जितेन्द्र नारायण देव, बद्री पाण्डे र राजपाका वृशेषचन्द्र लालसहित १४ जना सदस्य छन् ।

प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति
कानुन निर्माणपछि नियमावली र निर्देशिका निर्माण गरी सरकारी निकायले गर्ने कामहरुको बारेमा अध्ययन गर्ने क्षेत्राधिकार भएको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको सभापतिको पहिलो रोजाइमा रामनारायण बिडारी रहेका छन् । पूर्व माओवादीका नेता बिडारीले कानुनमन्त्री हुनुपर्ने माग गरेको र उनी समेटिन नसकेकाले उनलाई उक्त समितिको सभापति बनाउनुपर्ने दाबी नेकपाका अध्यक्ष पुष्पकमल दाहालले गरेका छन्। दाहाल नै उनको पक्षमा रहेकाले बिडारी नै सभापतिको पहिलो रोजाइमा छन् ।

राष्ट्रिय सरोकारका मुद्दाहरुमा छलफल गर्ने र आवश्यक
निर्देशन दिने क्षेत्राधिकार भएको उक्त समितिमा १४ जना सदस्य रहेका छन् । समितिको सभापति महिला बनाउनुपर्ने भएकाले पहिलो रोजाइमा दिलकुमारी रावल थापा (पार्वती) रहेकी छन् । उक्त समितिमा कोमल वली समेत रहेकाले उनले पनि आफूलाई सभापतिको प्रतिस्पर्धीको रुपमा दाबी गरेकी छन् ।

Womui
Womui