गृहमन्त्री भेट्न पुगे प्रदेश ७ का सांसदहरु, उच्चस्तरीय छानबिन आयोग गठन गर्न माग

184

छिनछिन खबर
काठमाडौं, भदौ ७ ।कञ्चनपुरकी १३ वर्षीय किशोरी निर्मला पन्तको बलात्कारपछि भएको हत्याका बारेमा निष्पक्ष छानबिनको माग गर्दै प्रदेश नम्बर ७ का संघीय संसदका सांसदहरुले उच्चस्तरीय छानबिन आयोग गठन गर्न माग गरेका छन् । उनीहरुले बिहिबार गृहमन्त्री रामबहादुर थापा बादललाई भेटेर ६ बुँदे मागपत्र नै बुझाएका छन् । ज्ञापनपत्रमा प्रहरीको अनुसन्धानमाथि नै प्रश्न उठेको भन्दै दोषी भनिएका व्यक्तिमाथि स्थानीयले अविश्वास गरेकाले आन्दोलन चर्कदै जाँदा सीमाबाहिर पुग्न सक्ने खतरा बढेकाले समयमै सचेत रहन गृहमन्त्रीलाई ध्यानाकर्षण गराइएको छ ।

त्यस्तै घटनाको सत्यतथ्य पत्तालगाई दोषीमाथि कडा कारवाही हुनुपर्ने, पीडित परिवारलाई उचित क्षतिपूर्ति दिर्नुपर्ने, आन्दोलनका क्रममा घाइते भएकाहरुको राज्यले उपचार गर्नुपर्ने, जनताको शान्तिपूर्ण आन्दोलनमा भएको प्रशासनिक दमन बन्द गर्नुपर्ने र घटनाबारे आधिकारिक जानकारी मन्त्रालयले जनाकारी गराउनुपर्ने माग छन् । जवाफमा गृहमन्त्री बादलले उच्चस्तरीय आयोग गठन गर्न प्रतिबद्धता जनाएको बताइएको छ ।

६ बुँदे ज्ञापन पत्र बुझाउन नेकपाका नेताहरु लेखराज भट्ट, निरु पाल लगायतको टोली पुगेको थियो । यसैबीच हत्याको विरोधमा बिहीबार कञ्चनपुरमा भएको प्रदर्शनमा प्रदर्शनकारीतर्फ ८ जना र प्रहरीतर्फ दुई जना घाइते भएका छ्न् ।घाइतेमध्ये एक जनालाई टाउकोमा चोट लागेकाले उनको अवस्था जटिल रहेको महाकाली अञ्चल अस्पताल स्रोतले जनाएको छ ।

डा श्रेष्ठका अनुसार घाइतेहरु अधिकांशको खुट्टा र ढाडमा चोट लागेको छ । खुट्टामा गम्भीर चोट लागेका एकजनाको अञ्चल अस्पतालमा उपचार हुन नसकेर रिफर गरेको अस्पतालले जनाएको छ । यसरी रिफर हुनेमा अर्जुन भण्डारी रहेका छन् ।डा श्रेष्ठले घाइतेहरुलाई गोली लागेको हो होइन भन्ने कुरा पुष्टि भैनसकेको बताए ।

उनले केही घाइतेहरु सामान्य उपचारपछि घर फर्किए पनि घाइते भएकाहरुलाई गोली लागेको बारे एकिन भैनसकेको बताए । ‘घाइते अधिकांशको एक्सरे रिपोर्ट आउन बाँकी रहेकाले यसै भन्न सक्ने अवस्था छैन’ डा श्रेष्ठले भने । यद्यपि प्रदर्शनकारीले भने गोली चलाइएको दाबी गरेका छन् । सो क्रममा घाइते भएकाहरुमा आन्दोलनकारीतर्फ अर्जुन भण्डारी, तेज भट्ट, किरण पनेरु, मनोज बुढा, सन्तोष कठरिया, सञ्जय खड्का, बलदेव भट्ट, मदन साउद छन् ।

यी मध्ये भण्डारीको उपचार महाकाली अञ्चलल अस्पतालमा उपचार हुन नसकेपछि धनगडी पठाइएको अस्पतालले जनाएको छ । त्यस्तै भटट्को टाउकोमा ६ टाँका लगाइएको छ । अन्दोलन उग्र बन्दै गएपछि कञ्चनपुरमा कर्फ्यू आदेश जारी गरिएको छ ।

Womui
Womui