भेरी अस्पतालको स्तरोन्नती गर्ने शहरी विकास मन्त्री राईको उद्घोष

149

नेपालगन्ज, भदौं ६-
नेपालगन्जकी दानवीर स्वर्गीय औतार देई कसौधन चौधराइनको आठौं स्मृति दिवसमा विभिन्न कार्यक्रम गरिएको छ । शिक्षा र स्वास्थ्य क्षेत्रमा जग्गा लगायत करोडौंको सम्पती दान गरेर उदाहरणीय बनेकी बर्गीय चौधराइनको स्मृति दिवसमा उनको शालिकमा माल्र्यापनसहित फलफूल, स्टेशनरी वितरण, वृक्षारोपण तथा प्रवचन लगायतका कार्यक्रम गरिएको हो । विस १९५४ मा जन्मिएकी चौधराइनको २०२८ भदौं ६ गते दिन निधन भएको थियो । स्थानीय महेन्द्र बहुमुखी क्याम्पस, भेरी अञ्चल अस्पताल, नारायण माध्यामिक बिद्यालय, जिल्ला जनस्वास्थ्य कार्यालयलाई जग्गा दान गरेर शिक्षा र स्वास्थ्य क्षेत्रको विकासमा पुर्याएको योगदानको स्मरण गर्दै बुधबार नेपालगन्ज उपमहानगरपालिका र स्व औतारदेइ कसौधन (चौधराइन) सेवा प्रतिष्ठानले छुट्टा-छुट्टै कार्यक्रम गरेका हुन् ।

उपमहानगरपालिकाले बुधबार बिहान क्याम्पसको शालिकमा माल्याअर्पणका साथै वृक्षारोपण गरेको छ । नगर प्रमुख डा. धवल शम्शेर राणा, स्व. औतारदेइ कसौधन (चौधराइन) सेवा प्रतिष्ठानका अध्यक्ष नन्दलाल बैश्य, क्याम्पस प्रमुख गणेश रेग्मी लगायतले अशोका, लिची लगायतका २० वटा विरुवा रोपेका थिए । यस्तै उपमहानगरपालिकाका वरिष्ठ कार्यक्रम अधिकृत शरदकुमार पौडेल, वडा अध्यक्ष लगायतले अस्पतालमा ८० जना बिरामीलाई फलफूल वितरण गरे । यसैगरी नारायण माबिमा एक सय बिद्यार्थीलाई कापी, कलम पनि वितरण गरियो । दिवसकै अवसरमा प्रतिष्ठानद्धारा अस्पताल परिसरमा आयोजित कार्यक्रममा दाता चौधराइनको योगदानको चर्चा गर्दै उनको शालिकमा माल्र्यापनसहित दाता तथा समाजसेवीलाई सम्मान समेत गरिएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राइले जीर्ण भेरी अञ्चल अस्पतालको नयाँ भवन बनाइने उद्घोष गरेका छन् । पश्चिम नेपालकै पुरानो र आम जनताको स्वास्थ्य भरोसाको केन्द्रका रुपमा रहेको अस्पताललाई नयाँ स्वरुप दिन योजना र बजेट अघि सारिसकिएको बताए । अस्पतालको नाम समेत परिवर्तन गर्न सकिने भन्दै मन्त्री राईले जग्गा दाता औतार देई कसौधन (चौधराइन) को नाममा राख्न आवश्यक पहल गर्न सम्वद्ध पक्षलाई आग्रह गरे । उनले नगरको समग्र विकासका लागि कयौं योजनाहरु लिपीवद्ध भइसकेको भन्दै सिटी हल, शवगृह लगायतका काम चाँडै सुरु हुने बताए ।

प्रतिष्ठानका अध्यक्ष नन्दलाल बैश्यको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख अजय कुमार श्रीवस्तव, नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख डा. राणा, नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता अशोक कोइराला, पत्रकार महासंघ ५ नम्बर प्रदेशका सचिव शुक्रऋषि चौलागाई, जगदिश प्रसाद बैश्य लगायतले बोलेका थिए । सोही समारोहमा कन्हैयाल बैश्य, सरदार सहदेव सिंह, जोगराज अग्रवाल(मरणोपरान्त) तथा श्रीजंग शाह, जयकेशसिंह र जगदिश प्रसाद बैश्यलाई दोसल्लासहित सम्मान गरिएको थियो ।

Womui
Womui