महासंघबाट अलग हुन सक्ने युनियन बाँकेको चेतावनी

53

नेपालगन्ज, भदौं ५-
नेपाल प्रेस युनियनले पत्रकार महासंघ बाँके स्वेछाचारी ढंगले प्रस्तुत भईरहे महासंघबाटै अलग हुन सक्ने चेतावनी दिएको छ । युनियन बाँकेको कार्यसमिति, सल्लाहकार, उपलब्ध केन्द्रिय पार्षद र साधारण सदस्यको मंगलबार सम्पन्न बृहद बैठकले महासंघ बाँके स्वेछाचारी ढंगले प्रेस युनियनविरुद्ध संगठित रुपमा लागेको ठहर गर्दै यस्तो चेतावनी दिएको हो । युनियन बाँकेका अध्यक्ष जयनारायण शाहको अध्यक्षता र युनियनका केन्द्रिय उपमहासचिव प्रेम केसीको विशेष उपस्थितीमा बसेको बैठकले महासंघको बर्तमान नेतृत्वको गतिविधीविरुद्ध बहिस्कार गर्नेदेखि महासंघबाटै अलग हुनुपर्ने अवस्था आउन सक्ने चेतावनी दिएको हो ।

महासंघ बाँके अग्रजहरुको त्याग, निष्ठा समपर्णले आजको स्थानमा आइपूगेको उल्लेख गर्दै युनियनले विज्ञप्तीमा भनेको छ, ‘यसमा सबै पत्रकारको पसिना बगेको छ, बाँकेका पत्रकारहरुको आस्था र भरोसाको यो छाता संस्थालाई कुनै अमुख व्यक्ति, संगठन वा पार्टीको लाचार छाँया बनाउन नदिन युनियन बाँके जस्तोसुकै मुल्य चुकाउन तयार रहने निष्कर्ष पनि बैठकले निकालेको छ ।’ युनियन बाँकेका कार्यसमिति सदस्य समेत रहेका महासंघका साधारण सदस्य विजय मल्ललाई सफाइको मौका समेत नदिई विना कारण निलम्वनको सिफारिस गरेको बक्तव्य जारी गरेकोप्रति बैठकले गम्भिर आपत्ती जनाउँदै उक्त कार्यको निन्दा र भत्र्सना गरेको छ । ‘तथाकथित’ छानविन समितिको हवाला दिंदै महासंघद्धारा जारी विज्ञप्तीप्रति युनियनको बृहद बैठकले गम्भिर सरोकार जनाउँदै उक्त निर्णय तत्काल सच्चाउन महासंघको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।

सामाजिक सञ्जालमा कुनै स्ट्याटसमा कमेन्ट गरेको बहानामा मल्ललाई कारबाही गरेको बताउने महासंघका अध्यक्षले अर्का सदस्य प्रियास्मृति ढकाललाई समेत धम्कीपूर्ण भाषा प्रयोग गरेकोप्रति समेत बैठकले ध्यानाकर्षण गरेको विज्ञप्तीमा उल्लेख छ । युनियनको बैठकले एक वर्ष यताका महासंघका प्रत्येक सदस्यका फेसबुक स्ट्याटसको अध्ययन गर्ने तटस्त समिति बनाउन महासंघ बाँकेलाई चुनौती दिएको छ । साथै अरुमाथि प्रश्न उठाउनुअघि महासंघ बाँकेका पदाधिकारीले आफ्नो अनुहार दोहोर्याएर ऐनामा हेर्न आग्रह समेत गरेको छ । महासंघ बाँकेको नेतृत्वलाई हेरेर आम मानिसले बाँकेका पत्रकारको ईमेज बनाउने भएकाले जिम्मेवार र मर्यादित हुन पनि सम्बन्धितलाई ध्यानाकर्षण गराउने निर्णय गर्दै बैठकले महासंघ बाँकेका अध्यक्षसहित पदाधिकारीका गतिविधी नै पटक–पटक विवादमा परेकोतर्फ पनि ध्यानाकर्षण गराएको छ ।

निर्वाचित भईसकेपछि सबै पत्रकारहरुको साझा नेतृत्वको भुमिका निर्वाह गर्नुपर्नेमा बहुमतको दम्भ देखाउँदै प्रेस युनियनका सदस्यहरुप्रति पुर्वाग्रही देखिएको महासंघको बाँके नेतृत्वले छानीछानी युनियन सर्मथक पत्रकारहरु (सूर्यलाल यादव, भीम पौडेल, उमा थापा र विजय मल्ल) लाई कार्वाही सिफारिस गरेकोप्रति आपत्ति जनाएको छ । युनियनले कारवाही सिफारिसको निर्णय तत्काल सच्चाउन महासंघको ध्यानाकर्षण पनि गराएको छ । जनप्रतिनिधि निर्वाचित भएको भन्दै उमा थापालाई विदाई गरेको बताउने महासंघले कोहलपुर नगरपालिकाका कार्यपालिका सदस्य भीमबहादुर नेपालीको सदस्यता कायमै राखको युनियनले जनाएको छ ।

बैठकले महासंघ नेतृत्वले स्थानीय तह र विभिन्न संघ संस्थाका कार्यक्रममा ‘सिन्डिकेट’ लगाएकोप्रति आपत्ती जनाएको छ । ‘साथै ती कार्यक्रममा आफ्ना आसेपासेलाई पोस्ने र युनियन समर्थक र प्रोफेसनल पत्रकारलाई समेत नबोलाईने गरेकोप्रति आपत्ती जनाएको छ । महासंघ विधान अनुसार बैधानिक सल्लाहकारलाई लत्याएर अमुक व्यक्तिको इशारामा महासंघ चलाएकोमा समेत बैठकको ध्यानाकर्षण भएको छ,’ विज्ञप्तीमा भनिएको छ ‘विधानत निर्वाचनमा अध्यक्ष पदका निकटतम प्रत्यासी,निवर्तमान अध्यक्ष र त्यसअघिका पूर्व अध्यक्ष सल्लाहकार हुने व्यवस्था छ, जसअनुसार सल्लाहकार रहेका नरेन्द्र थापा, शुक्रऋषी चौलागाई र रुद्र सुवेदीलाई अति महत्वपूर्ण निर्णय हँुदा समेत बैठकमा सहभागी नगराइनु दुर्भाग्यपूर्ण भएको ठहर छ ।’ पूर्वाग्रही ढंगले नभई तटस्थ रुपमा सदस्यता शुद्धिकरणको अभियान महासंघ बाँकेमा चलाउनुपर्ने निस्कर्ष युनियनको बैठकले निकालेको छ ।

Womui
Womui