उच्च शिक्षाका लागि ७२ मुलुकमा नेपाली विद्यार्थी, पहिलो रोजाइ अस्ट्रेलिया

91

काठमाडौं, भदौ ३ । उच्चशिक्षा अध्ययन र त्यसका नाममा विदेश जानेको संख्या हरेक वर्ष बढेसँगै हाल विश्वका ७२ मुलुकमा नेपाली विद्यार्थी पुगेको पाइएको छ । मुलुकले समृद्धिको सपना देखेपनि स्वदेशको उच्च शिक्षा र रोजगारीप्रति भर नगरी ती विद्यार्थी विदेशिएको देखिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतको केशरमहलस्थित छात्रवृत्ति शाखाका अनुसार चालू आर्थिक वर्षको हालसम्मको अवधिमा मात्रै विश्वका ७२ मुलुकका शिक्षालयमा अध्ययनका लागि ६२ हजार २ सय विद्यार्थीले पढ्न जानका लागि स्वीकृतिपत्र (नो अब्जेक्सन लेटर) लिएका छन् । यो संख्या गत दुई वर्ष अघिको आर्थिक वर्षको तुलनामा झण्डै दोब्बर हो ।


आव २०७२÷०७३ मा यसको झण्डै आधा संख्या अर्थात् ३२ हजार ४ सय ८९ जनाले विदेशमा उच्चशिक्षाका लागि स्वीकृति लिएका थिए । आव २०७३र०७४ मा यो संख्या बढेर ५० हजार ६ सय ५९ पुगेका र चालू आर्थिक वर्षको दुई महिना बाँकी रहँदै थप वृद्धि भई ६२ हजारभन्दा बढीले स्वीकृतिपत्र लिएका छन् । शाखाका प्रमुख देवीप्रसाद उपाध्याय पौडेलका अनुसार दैनिक सरदर २ सयको हाराहारीमा विद्यार्थीहरुले स्वीकृतिपत्र लिइरहेका हुन्छन् । स्वीकृतिपत्र नलिई विदेश पढ्न जाने विद्यार्थीको संख्या सरकारी अभिलेखमा देखिँदैन भने स्वीकृतिपत्र लिएका सबैले अध्ययनका लागि मात्र नलिएको पनि देखिएको छ । उनीहरुले अध्ययनका लागि अनुमति लिएर रोजगारमा लागेका हुन्छन् भने कतिपयले अध्ययन र रोजगारी सँगै अघि बढाएका हुन्छन् ।

उच्चशिक्षा अध्ययनका लागि सबैभन्दा बढी यो वर्ष पनि अस्ट्रेलिया विद्यार्थीको पहिलो रोजाइमा परेको छ । चालू आवको गत साउन २ गतेदेखि हालसम्मको विवरण अनुसार सो मुलुकमा ३३ हजारले स्वीकृतिपत्र लिएका छन् । यस्तै, यो वर्षको गत जेठसम्मको अवधिमा जापानका लागि ११ हजार ९४, संयुक्त राज्य अमेरिकाका लागि २ हजार ४ सय ५८, चीनका लागि १ हजार ९ सय ९६, भारतका लागि १ हजार ९ सय ७०, पोल्याण्डका लागि १ हजार ४ सय ३२, क्यानाडाका लागि १ हजार १ सय ८६ र दक्षिण कोरियाका लागि १ हजार ८६ जनाले स्वीकृतिपत्र लिएका छन् । रोमानिया, भियतनाम, युक्रेन, आइसल्याण्ड जस्ता मुलुकका लागि एक÷दुई जनाले मात्र अध्ययन स्वीकृतिपत्र लिएका छन् । प्रमुख उपाध्यायले अध्ययन स्वीकृतिपत्रका लागि सरलीकृत र छिटोछरितो गर्न आवश्यक सबै कागजात पेस भएको आधा घन्टाभित्र स्वीकृति दिनेगरी प्रबन्ध गरिएको जानकारी दिए । ती मुलुकमा जाने विद्यार्थीमध्ये महिला र पुरुष विद्यार्थीको अलगअलग आँकडा भने शाखाको अभिलेखमा छैन ।

नेपाल शैक्षिक परामर्श संघ (इक्यान)का अध्यक्ष विष्णुहरि पाण्डेले विद्यार्थी विदेशिने संख्या र मुलुकको संख्या ह्वात्तै बढ्नु अनपेक्षित भएको बताउँदै यो संख्या सबै अध्ययनका लागि मात्रै गएको नहुन सक्ने बताए । ‘विद्यार्थीहरुलाई करियर र काउन्सिलिङ गर्दै आएका करिब १ हजार ५ सय परामर्श दातृ संस्थाहरुले कसरी उनीहरुलाई परामर्श दिन्छन्, ताकि उनीहरुले उता गएर राम्रो अध्ययन गर्न सकून् केबल पढ्ने नाममा कामका लागि नजाऊन् भन्नेमा हाम्रो पनि मुख्य भूमिका हुन्छ,’ अध्यक्ष पाण्डेले भने । उनले नेपालमा प्रत्यक्ष विदेशी लगानी (एफडिआई) मार्फत शैक्षिक परामर्श सेवामा पनि विदेशी लगानी आउन खोजेकामा आफूहरुको विरोध रहेको जनाए । अष्ट्रेलियाली कम्पनीले नेपालमा यस क्षेत्रमा लगानीका लागि पहल गरिरहेका छन् । पाण्डेले त्यसो भएमा नेपालमा परामर्श केन्द्र धरासायी हुने र पूँजी पलायन हुने खतरा रहेको पनि औँल्याए ।
रासस

Womui
Womui