प्रेस काउन्सीलको नतिजाविरुद्ध सरकारलाई प्रेस युनियनको ज्ञापन

131

नेपालगन्ज, साउन ३१-

प्रेस काउन्सील नेपालले सार्वजनिक गरेको पत्रपत्रिकाको वर्गिकरणको नतिजाप्रति असन्तुष्टी जनाउँदै नेपाल प्रेस युनियन बाँकेले बिहीबार सरकारलाई ज्ञापन पत्र बुझाएको छ । युनियन बाँकेका तर्फबाट अध्यक्ष जयनारायण शाह, उपमहासचिव प्रेम केसी, सल्लाहकार नरेन्द्र थापा र केन्द्रिय पार्षद शुक्रऋषि चौलागाईले प्रमुख जिल्ला अधिकारी मदन भुजेलमार्फत सञ्चार तथा सूचना प्रविधी मन्त्रीलाई ज्ञापन पत्र बुझाएका हुन् । यही साउन २४ गते काउन्सीलले पत्रपत्रिकाको वर्गिकरण नतिजा निकालेको थियो ।

पूर्वाग्रह राखेर निकालिएको नतिजा खारेज गरी पुनरावलोकन गर्न युनियनले ज्ञापन पत्र मार्फत जोडदार रुपले माग गरेको छ । ‘पत्रपत्रिकाको बर्गिकरणको नतिजाले नेपाल प्रेस युनियनलाई गम्भिर बनाएको छ, देशभरबाट यो नतिजालाई लिएर पत्रकार साथीहरुको गम्भिर असहमति समेत प्रकट भएको छ,’ ज्ञापन पत्रमा भनिएको छ ‘नतिजा निकाल्ने क्रममा राजनीतिक आग्रह, व्यक्तिगत पूर्वाग्रह र कृपावाद हावी भएको गुनासो समेत पत्रकारवृतबाट आएको छ ।’ नियमित रुपमा प्रकाशन भईरहेका पत्रपत्रिकालाई बर्गिकरणमा घटुवा गरि सोही ठाउँमा कहिले काही प्रकाशित हुने पत्रपत्रिकालाई बढुवा गरिएको गुनासो आएको युनियनले जनाएको छ । ‘पत्रपत्रिका वितरण संपरिक्षण समितिको सिफारिसलाई समेत लत्याउँदै बोर्ड बैठक समेत नबसी फरक नतिजा प्रकाशन गरिएको कुराले हामीलाई झन आक्रोशित तुल्याएको छ,’ ज्ञापन पत्रमा भनिएको छ ।

काउन्सीलका कार्यबाहक अध्यक्ष किशोर श्रेष्ठले एकलौटी रुपमा सुचना, सञ्चार तथा प्रविधी मन्त्रालयमा बुझाई सार्वजनिक गरिएको नतिजा पूर्वाग्रह र राजनीतिक प्रतिशोध साँधिएको दस्ताबेजका रुपमा युनियनले लिएको छ । अन्यथा काउन्सील नेतृत्वको कोपभाजनमा परेका सञ्चारमाध्यम र सञ्चारकर्मीका साथमा देशभरका पत्रकारलाई लिएर युनियन आन्दोलनमा उत्रने चेतावनी दिइएको छ । युनियनको केन्द्रिय कार्यक्रम अनुसार देशभरका शाखाले बिहीबार प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापन पत्र बुझाएको महासचिव अजयबाबु शिवाकोटीले बताएका छन् ।

Womui
Womui