वैदेशिक रोजगारीमा जाने घट्दै

53

छिनछिन खबर
काठमाडौं, साउन २६ । पछिल्लो समयमा वैदेशिक रोजगारीमा जाने युवायुवतीको संख्या घट्दो छ । वैदेशिक रोजगारीमा युवायुवतीको आकर्षण बढ्दा देशको उत्पादन क्षेत्र ओरालो लागेको बेला मलेसिया लगायत खाडी मुलुकमा काम गर्न जाने युवायुवतीको संख्या घट्दा स्वदेशी उत्पादन क्षेत्रलाई टेवा मिल्न सक्ने उद्योगी, व्यवसायीको अपेक्षा छ ।

आर्थिक वर्ष २०७१÷७२ मा नेपालबाट खाडी लगायत मलेसिया र अन्य मुलुकमा कामको खोजीमा श्रम स्वीकृति लिएर एक लाख ७२ हजार छ सय २२ युवायुवती वैदेशिक रोजगारीमा गएका थिए ।वैदेशिक रोजगार विभागले प्रकाशित गरेको पछिल्लो विवरणमा विदेश जानेको संख्या घट्दा वैदेशिक रोजगारीमा वितृष्णा हो या नेपालकै आन्तरिक समस्या हो भन्नेबारेमा भने एकिन हुन सकेको छैन । विभागका अधिकारीहरू वैदेशिक रोजगारीको भविष्यबारे अहिले नै आँकलन गर्न गाहे हुने बताउँछन् । स्वदेशमा रोजगारीको अवसर नहुँदा एक दशकयता वैदेशिक रोजगारीको आकर्षण ह्वात्तै बढेको छ । जसले गर्दा ग्रामीण भेकमा कृषियोग्य जमिन बाँझै हुन पुगेका छन् । त्यस्तै, सीमित मात्रामा सञ्चालनमा रहेका उद्योग, प्रतिष्ठानलाई दक्ष कामदार पाउन समस्या हुँदै आएको छ । आर्थिक वर्ष २०६३÷०६४ मा करिब दुई लाख युवायुवती श्रम स्वीकृति लिएर विदेश पस्नेको संख्या बढेर अघिल्लो आर्थिक वर्षमा तीन लाख ८८ हजार ८ सय ८७ पुगेको थियो । त्यसअघि वैदेशिक रोजगारीमा जानेको संख्या पाँच लाख १२ हजार थियो ।

श्रमशक्तिको दृष्टिकोणले जनशक्ति पलायनको क्रम रोकिनुलाई धेरैले सकारात्मक रूपमा लिए पनि वैदेशिक रोजगारीमा जानेको संख्या घट्दा रेमिट्यान्समा टिकेको नेपालको अर्थतन्त्रमा भने नकारात्मक असर पर्न सक्ने आंशका गरिएको छ । वैदेशिक रोजगारीमा जानेको संख्या घट्दा विदेशबाट आउने रेमिट्यान्स पनि कमी हुन सक्ने भएकाले अब उत्पादनमूलक क्षेत्रलाई जोड दिनु पर्ने धेरैको भनाइ छ । पछिल्ला समयमा वैदेशिक रोजगारीमा जानेको संख्या घटे पनि खाडी मुलुकबाट नेपाली कामदार मागको संख्या भने घटेको छैन ।

Womui
Womui