दुर्घटनाको कारक बन्दै चारलेन सडकका खाल्डा

214
  • मनपरी सडक खन्दै खानेपानी संस्थान

नेपालगन्ज, साउन २०-
जहाँ, जतिबेला मन लाग्यो त्यतिबेला सडक खन्ने खानेपानी संस्थानको प्रवृत्ती नै बसेको छ । कमसल निर्माणका कारण चारलेन सडकको गुणस्तर दिनहुँजसो खस्किरहेका बेला खानेपानी संस्थानले सडक झन् मनपरी रुपले खन्न थालेको हो । सडकमा देखा परेका खाल्डाका कारण दिनहुँजसो सडक दुर्घटना हुने गरेका छन् । नेपालगन्जको राँझादेखी जमुनाहा सम्म सडकमा खाल्डै खाल्डा देखा परेका छन् । खानेपानी संस्थानले आफ्नो पाईप मर्मत गर्ने नाममा ठाउँ–ठाउँमा खाल्डा खन्दै छाडेको छ । पाईप मर्मत गरिसकेपछि पनि संस्थानले सामान्य रुपले खाल्डो पुर्ने काम बाहेक अरु केही नगरेको स्थानीय बासिन्दा बताउँछन् । ‘एक त कमसल निर्माणका कारण सडक जीर्ण बन्दै गएको छ, त्यसमा पनि खानेपानी संस्थानले जथाभावी रुपले सडक खन्ने गरेको छ, यसले दुर्घटनाको खतरा झनै बढाएको छ,’ स्थानीय बासिन्दा भन्छन् ।

पटक-पटक खानेपानी संस्थान विरुद्ध प्रश्न उठेपनि कार्यालयले यस विषयमा आफ्नो आधिकारिक धारणा बाहिर ल्याएको छैन । कार्यालयका कर्मचारी सम्पर्कमै आउन चाहदैनन् । सडक निर्माणका क्रममा खानेपानी संस्थान, ठेकेदार र सडक आयोजना कार्यालयबीच कुनै समन्वय भएन । अहिले त्यसैको परिणाम स्वरुप सडकमुनि जथाभावी रुपमा जाडिएका पाईपबाट पानी लिकेज हुने गरेको छ । पानी लिकेज हुने वित्तिकै खानेपानी संस्थानले पाईप मर्मतका नाममा सडक नै खन्ने गरेको सडक डिभिजन कार्यालय नेपालगन्जका प्रमुख अर्जुन बम बताउँछन् । ‘खानेपानी संस्थानले पाईप मर्मत गर्ने नाममा सडक खन्ने काम गरिरहेको छ, यसरी खन्दै जाने हो भने सडकको अवस्था के होला ?’ उनले प्रश्न गरे । सडक निर्माणका क्रममा तीन निकायबीच समन्वय भएको भए अहिले सडक खन्ने अवस्था नआउने बम बताउँछन् ।

केहीदिन अघि गुरुद्धारा नजिक खानेपानी संस्थानले खनेको सडकको खाल्डोमा परेर एउटा बस नै फस्यो । खाल्डोमा फसेको बसलाई निकालेर स्थानीय बासिन्दाले रुखको हांगो नै गाडिदिए । अहिले पनि उक्त खाल्डोमा परेर सानातिना दुर्घटना भईरहेको प्रत्यक्षदर्शी बताउँछन् । जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक हिरेन्द्रबहादुर रोकाय चारलेन सडकका विभिन्न ठाउँमा खाल्डो पर्दा दुर्घटनाको जोखिम बढेको बताउँछन् । सडकका खाल्डो नै दुर्घटनाको कारक बन्दै गएको उनको भनाई छ । ‘चारलेन सडकको ठाउँ–ठाउँमा खाल्डा देखा परेका छन्,’ रोकायले भने ‘सडक बनाउँदाखेरी नै खानेपानी संस्थान, ठेकेदार र सडक आयोजनाबीच समन्वय नभएर यस्तो भएको हो ।’ उक्त सडक निर्माणमा एडिबीको ६६.६ प्रतिशत ऋण अनुदान र नेपाल सरकारको ३३.३ प्रतिशत बजेट लगानी छ । नेपालगन्ज–कोहलपुर आयोजनाको ‘आईसिबी कन्ट्रयाक्ट–१’ अन्तर्गत राँझादेखी जमुनाहा सम्मको १०.५० किलोमिटर खण्ड एमएमआर पप्पु जेभी कम्पनी र राँझादेखी कोहलपुरसम्मको बाँकी खण्ड ‘आईसिबी कन्ट्रयाक्ट–२’ अन्तर्गत कालिका कन्स्ट्रक्सन कम्पनीले निर्माण गरेको थियो ।

Womui
Womui