प्रदेश कृषि मन्त्री पौडेल निरीक्षणमा

167

नेपालगन्ज, साउन १८-
प्रदेश ५ का कृषि भुमि व्यवस्था तथा सहकारी मन्त्री आरती पौडेलले शुक्रबार बाँकेको खजुरा गाउँपालिकामा रहेका कृषि फार्मको निरीक्षणसँगै किसान र जनप्रतिनिधीसँग अन्तरक्रिया गरेकी छन् । मन्त्री पौडेलले खजुरामा रहेको कुखुरा विकास फर्म, किसान लालबहादुर सुनारले सञ्चालन गरेको च्याउ फार्म र गेहेन्द्र धितालको तरकारी तथा फलफुल खेतीको निरीक्षण गरिन् । कृषि पत्रकार संघ बाँकेको संयोजनमा गरिएको किसानसगँको अन्तरक्रियात्मक कार्यक्रममा बोल्ने किसानले मुख्य समस्या सिंचाई रहेको गुनासो गरेका थिए । सिचाई अभावका कारणले मौसमी तथा बेमौसमी खेती गर्न मुस्किल पर्ने गरेको किसानले गुनासो गरे ।

सिंचाई नपुगेका ठाउँमा सोलार सिंचाईको व्यवस्था मिलाउन, सिचाईको लागि वितरण भएका मिटरको क्षमता बढाउन तथा त्यसको दायरा फराकिलो बनाउन, साना किसानमुखी कार्यक्रम सञ्चालन गर्न र कृषि उपजकोे बजार ग्यारेन्टी गर्ने नीति निर्माण गर्न मन्त्रीसँग माग गरे । कृषक धितालले किसानलाई अनुदान दिदा ध्यान पु¥याउन अनुरोध गरे । कृषिमा गरेको लगानी नडुब्ने किसिमले योजना ल्याउन किसानले मन्त्री पौडेललाई सुझाव दिए । आधुनिक कृषि प्रविधी किसिमको योजना किसानको माझमा ल्याई कृषि उत्पादकत्व बढाउन सहयोग गर्न सके मात्र कृषिको विकास सम्भव हुनेमा जोड दिएका थिए । मन्त्री पौडेलले किसानहरुको समस्या र मागलाई आफुले गम्भिरतापुर्वक लिई सुझाव अनुसारको काम गर्ने बताईन् ।

अन्तरक्रियामा खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपति र उपाध्यक्ष एकमाया बि.क. वडा नम्बर २ का वडाध्यक्ष देबीलाल शर्मा खनाल, कुुखुरा व्यवसायी संघ बाँकेका अध्यक्ष लालबहादुर खत्री, निजी वन संघ बाँकेका अध्यक्ष मोहन रिजाल, गाउँपालिका कृषि शाखाका प्रमुख सुरेन्द्र ठाकुर लगायत गाउँपालिका क्षेत्रका अगुवा किसानको सहभागिता रहेको थियो । निरीक्षणका क्रममा मन्त्री पौडेलले खजुरामा रहेको कुखुरा विकास फार्मको क्षमता बढाइने बताईन् । फार्मका प्रबन्धक ललितजंग कुँवरले मन्त्री पौडेललाई फार्मको हालको उत्पादन क्षमताबारे अवगत गराएका थिए । फार्मको प्रतक्ष्य अवलोकन गर्दे मन्त्री पौडेलले कुखुरा फार्मको भरपुर उपयोग गरी चल्ला उत्पादनमा बृद्धि गर्न निर्देशन दिईन् ।

यसैबीच खजुरा गाउँपालिका वडा नम्वर २ सितापुरलाई खजुरा गाउँपालिकाको स्मार्ट कृषि गाउँ बनाउन प्रस्ताव गरिएको छ । मन्त्री पौडेलसँग खजुरा क्षेत्रका किसानले सो प्रस्ताव गरेका हुन् । प्रदेशको कृषि, भुमि व्यवस्था तथा सहकारी मन्त्रालयले प्रत्येक निर्वाचन क्षेत्रमा एउटा स्मार्ट कृषि गाउँ बनाउने लक्ष्य लिएको छ । यसअघि पनि बाँकेको निर्वाचन क्षेत्र नम्बर १ मा रहेको खड्कवार स्मार्ट गाउँ बनाउने सहमती भइसकेको थियो । प्रदेश नम्बर ५ मा ५२ वटा स्मार्ट कृषि गाउँ बनाउने तयारी छ ।

Womui
Womui