कर्णाली प्रदेशमा उद्योग सञ्चालन गर्नेलाई १० वर्षसम्म कर छुट दिने पहल

79

छिनछिन खबर
सुर्खेत, साउन १७ । कर्णालीमा निजी लगानीकर्ताहरुलाई आकर्षित गर्न प्रदेश सरकारले पहल थालेको छ । कर्णालीको समृद्धिका लागि निजी लगानी अपरिहार्य रहेको निष्कर्षसहित प्रदेश सरकारले निश्चित अवधिका लागि कर र राजश्वमा छुट दिने रणनीति अपनाएको हो ।

 

जसका लागि कर्णाली सरकारले राज्यबाट संकलन हुने कर र राजश्वमा दश वर्षसम्म छुट हुने व्यवस्था मिलाई दिन नेपाल सरकार तथा अर्थ मन्त्रालयलाई अनुरोध गरी पठाउने निर्णयसमेत गरिसकेको छ । निजी क्षेत्रबाट हुने लगानी आकर्षित गर्न र उक्त लगानी सुरक्षित हुने वातावरण बनाउन प्रदेश सरकार प्रतिवद्ध रहेको मन्त्री प्रकाश ज्वालाले बताए ।

त्यस्तै प्रदेश सरकारले वैदेशिक ऋण र अनुदान भित्र्याउन पनि पहल सुरु गरेको छ । वैदेशिक ऋण, अनुदान, सहायता एवम् अन्तर्राष्ट्रिय लगानी प्राप्त गर्न विकास साझेदार, दातृ निकाय तथा वैदेशिक लगानीकर्ता मैत्री वार्ता, संवाद र साझेदारी गर्न प्रदेश सरकारलाई अनुमति दिन नेपाल सरकार तथा अर्थ मन्त्रालयसँग अनुरोध गरी पठाउने निर्णय गरिएको छ । संविधान अनुसार अन्तर्राष्ट्रिय ऋण तथा अनुदान लिनका लागि संघीय सरकारले सम्झौता गर्नुपर्दछ । तर सम्झौता संघीय सरकारले गरेपनि त्यसका लागि समन्वय र छलफल गर्ने सहमति प्रदेश सरकारलाई दिनका लागि संघीय सरकारबाट सहमति माग गरिएको ज्वालाले बताए ।

कर्णाली प्रदेशका गौरवका आयोजनाहरुको लागि सरकारले विशेष अनुदान, समपुरक अनुदान, आन्तरिक ऋण तथा वैदेशिक सहायता एवम् लगानीको व्यवस्थापनका लागि नेपाल सरकार तथा अर्थमन्त्रालयलाई अनुरोध गरी पठाउने समेत बैठकले निर्णय गरेको थियो ।

Womui
Womui