चौपाय छाड्दा नगर प्रहरी निकुञ्जको नियन्त्रणमा

149

नेपालगन्ज, साउन १६-
छाडा चौपाय जंगलमा छाड्न पुगेका नेपालगन्ज उपमहानगरपालिकाका कर्मचारीलाई बाँके राष्ट्रिय निकुञ्जले करिव १२ घण्टा नियन्त्रणमा लिएको छ । नेपालगन्जबाट मंगलबार बेलुका ७५ वटा गाई गोरु ट्रकमा लोड गरी पुर्वपश्चिम राजमार्गस्थित निकुञ्जको कचनापुर क्षेत्रमा छाड्न लागेको अवस्थामा नियन्त्रणमा लिइएको थियो । निकुञ्जका सहायक संरक्षण अधिकृत लालबहादुर भण्डारीका अनुसार मंगलबार राती करिव ९ बजेतिर भे१क ३११, लु१ख ५७९२, से१ख १४४६ र भे१ख २१९५ नम्बरको ट्रक तथा बा१च ६९३७ नम्बरको उपमहानगरपालिकाको नगर प्रहरी सवार जिपसहित चालक र कर्मचारीलाई नियन्त्रणमा लिइएको हो ।

ट्रकमा लोड गरिएको ७५ वटा गाई गोरुलाई निकुञ्ज क्षेत्रमा छाड्न लागेको अवस्थामा फेला पारेपछि निकुञ्ज कार्यालयले रातभर नियन्त्रणमा राखेर बुधबार १० बजे छाडेको सहायक संरक्षण अधिकृत भण्डारीले जानकारी दिए । नेपालगन्ज र कोहलपुर क्षेत्रबाट गाई गोरु ट्रकमा ल्याएर पटक–पटक जंगलमा छाड्ने गरेकोमा यसपटक फेला नै पारेपछि नियन्त्रणमा लिइएको उनले बताए । चौपायालाई निकुञ्ज क्षेत्रमा छाड्दा उनीहरुको रोग वन्यजन्तुमा सर्ने सम्भावना रहेको र बाघले रोगी चौपायालाई खाँदा मर्न सक्ने खतरा रहेका कारण प्रतिबन्ध लगाइएको भण्डारीको भनाई छ ।

जिल्ला प्रहरी कार्यालय बाँके र जिल्ला प्रशासन कार्यालयलाई बोद्धार्थ लेखिएको चलानीमा दाङको लमहीमा लगेर गाई गोरु छाड्ने उल्लेख गरिएको उनले बताए । ‘ट्रकको चलानीमा लमहीसम्म पुर्याउने कुरा लेखिएको छ, तर नगरपालिकाका कर्मचारीहरु निकुञ्जमै छाडेर जाँदा रहेछन्,’ उनले भने । निकुञ्जको नियन्त्रणमा १२ घण्टासम्म रहेका ३ जना नगर प्रहरीसहित १३ जनालाई अबदेखी निकुञ्ज क्षेत्रमा गाई गोरु नछाड्ने शर्तमा मुक्त गरिएको कार्यालयले जनाएको छ । अबदेखी चौपाय छाडेको पाइएमा कानुन बमोजिम कारबाही गरिने निकुञ्जले जनाएको छ । नेपालगन्ज र कोहलपुर क्षेत्रबाट गाई, गोरु र खच्चड ट्रकमा लोड गरेर सम्शेरगन्ज, कचनापुर र कुसुम क्षेत्रमा छाड्दा स्थानीय किसानको बालीनाली समेत सखाप पार्ने गरेका छन् ।

बाँके राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र ब्यवस्थापन समितिका अध्यक्ष गेहेन्द्रकुमार खड्काले नेपालगन्ज र कोहलपुर क्षेत्रबाट ल्याएर छाडिएका पशु चौपायले राजमार्ग क्षेत्रमा दुर्घटना निम्त्याउनुका साथै किसानको बालीबोट खाएर नोक्सान पुर्याउने गरेको बताए । निकुञ्ज क्षेत्रमा पशु चौपाय छाड्दा वन्यजन्तुलाई रोग सरेर मर्ने सम्भावना बढी हुने भएकाले प्रतिबन्ध लगाइएको उनको भनाई छ ।

Womui
Womui