पाकिस्तानमा इमरान खानको पार्टी पिटिआइको जित

112

इस्लामावाद, साउन ११ (एएफपी) । चर्चित क्रिकेटर इमरान खानले नेतृत्व गरेको पिटिआइ पाकिस्तानमा निर्वाचनका जितको नजिक पुगेको छ । खान पछिल्लो समयमा मात्र राजनीतिमा प्रवेश गरेका हुन् । पछिल्लो मतगणनाअनुसार मत गन्न बाँकी स्थानमा विपक्षी पार्टीले जित हात पारेपनि इमरान खानको पार्टी ‘पाकिस्तान तेहरिक ए इन्साफ (पिटिआइ)’ को जित सुनिश्चित देखिएको हो।

कुल २ सय ७० स्थानका लागि भएको निर्वाचनमा हालसम्मको मतगणनामा पिटिआइ १ सय १८ स्थानमा विजयी भएको छ । पूर्वप्रधानमन्त्री नवाज शरिफ नेतृत्वको सत्तारुढ दल पाकिस्तान मुस्लिम लीग–नवाजले(पिएमएल एन) ले ६० सिटमा जित हात पार्दा कुनै समय पाकिस्तानको प्रमुख राजनीतिक शक्तिका रूपमा रहेको पाकिस्तान पिपुल्स पार्टीले ४० स्थानमा मात्र विजयी भएको पाकिस्तानी समाचार संस्थाहरुले जनाएका छन्।खानले गएराति नै पत्रकार सम्मेलनको आयोजना गर्दै आफ्नो जित सुनिश्चित भएको दावी गरेका थिए ।
बिहीबार सञ्चारमाध्यमलाई प्रतिक्रिया दिँदै उनले बुधबार भएको आम निर्वाचनमा आफ्नो पार्टी धेरै ठाउँमा विजयी भएको दाबी गरेका थिए । ‘हामीलाई जनताले मतादेश दिएका छन् हामी सफल भएका छौँ,’ ६५ वर्षीय खानले सञ्चारकर्मीहरूसँग उत्साहित हुँदै भने ।

जित सुनिश्चित भएसँगै पाकिस्तानका विभिन्न प्रान्तहरुमा विजयी जुलुश निकाल्न थालिएको छ । निर्वाचन सम्पन्न भएको २४ घण्टाभित्रमा मतपरिणाम सार्वजनिक हुने भनिए पनि अहिलेसम्म औपचारिक रूपमा सबै मत परिणाम भने सार्वजनिक भएको छैन । पाकिस्तानको निर्वाचन आयोगले अबको केही घण्टाभित्रमा सबै स्थानको मतपरिणाम प्रकाशित हुने बताएको छ । पाकिस्तानमा केही हिंसात्मक घटनाका बीच बुधबार बिहान ८ बजे सुरु भएको मतदान बेलुका ६ बजे सकिएको थियो । मतदान सकिएको २४ घण्टाभन्दा बढी समय भइसक्दासमेत मत परिणाम सार्वजनिक नभएको र अनपेक्षित ढिलाइले चुनावी नतिजाको वैधानिकतामा नै प्रश्न उब्जिएको आलोचकहरूको भनाइ छ ।
पराजित भएका दलहरूले मत परिणाम अस्वीकार गर्ने चेतावनी दिएपछि निर्वाचन आयोगले अहिलेसम्म मत परिणाम सार्वजनिक गर्न नसकेको बताइएको छ ।


कतिपय अन्य दलहरूले निर्वाचनमा धाँधली भएको भन्दै मत परिणाम अस्वीकार गर्ने संकेत गरेका छन् । पूर्वप्रधानमन्त्री नवाज शरिफ नेतृत्वको सत्तारुढ दल पाकिस्तान मुस्लिम लीग–नवाजले मतदानमा सेनाको सहयोगमा व्यापक धाँधली भएको आरोप लगाउँदै अनधिकृत चुनावी परिणामलाई स्वीकार गर्न नसकिने जनाएको छ । पाकिस्तान चुनाव आयोगले चुनावमा धाँधली भएको भन्ने आरोपको खण्डन गर्दै सफ्टवेयरमा समस्या आएका कारण चुनावी परिणाम घोषणामा ढिलाई भएको स्पष्ट गरेको छ । ‘यो चुनाव शतप्रतिशत निष्पक्ष र पारदर्शीरूपमा सम्पन्न भएको छ,’ प्रमुख निर्वाचन आयुक्त सरदार मुहम्मद राजाले बताए । सन् २०१३ देखि नै सत्तामा रहेको पाकिस्तान मुस्लिम लीग–नवाज (पीएमएल–एन)ले चुनावी परिणामलाई ‘खुलेआम धाँधली’ को संज्ञा दिँदै यस परिणामलाई स्वीकार्न नसकिने जनाएको छ । उसले यस नतिजाका विरुद्धमा राजनीतिक एवम् कानूनी विकल्प प्रयोग गरिने स्पष्ट गरेको छ ।

उता पाकिस्तान पिपुल्स पार्टीले समेत चुनावमा व्यापक धाँधली भएको आरोप लगाएको छ । आफ्नो पार्टीका प्रतिनिधिलाई मतगणना स्थलमा प्रवेश गर्नसमेत नदिइएको सो पार्टीका अध्यक्ष बिलावल भुट्टोले ट्वीटमार्फत जानकारी गराएका छन् । राष्ट्रियसभाका २७० स्थान र ४ वटा प्रान्तीय सभाका ५ सय ७७ स्थानका लागि ९५ पार्टीका ११ हजार ६ सय ७६ उम्मेदवार चुनावी मैदानमा उत्रिएका थिए ।पाकिस्तानमा कूल २ सय ७० स्थान रहेको राष्ट्रियसभाबाट सरकार गठनका लागि १ सय ३७ स्थान आवश्यक पर्दछ ।

Womui
Womui