विपदको क्षति न्युनिकरण गर्न जनचेतनामा जोड

169

नेपालगन्ज, साउन ९-
राप्तीसोनारी गाउँपालिकाले विपद पुर्वतयारी तथा प्रतिकार्य योजनाको सम्बन्धमा सरोकारवालासँग बुधबार अन्तरक्रिया गरेको छ । गाउँपालिका अध्यक्ष लाहुराम थारुको अध्यक्षता एवम् प्रदेश नम्बर ५ का सांसद कृष्णा केसी नमुनाको प्रमुख आथित्यमा कार्यक्रम भएको हो । कार्यक्रममा जिल्लाको विपदको अवस्था तथा प्रतिकार्य योजना लगायत विषयमा विशिष्ट अतिथी एवम् बाँकेका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले जानकारी गराएका थिए ।
प्रस्तुतीका क्रममा प्रजिअ केसीले संविधानमै विपद ब्यवस्थापनको कुरा समेटिएको बताए ।

विपद ब्यवस्थापनका लागि संघ, प्रदेश र स्थानीय सरकारका काम, कर्तव्य भएको जानकारी दिए । प्रदेश सांसद कृष्णाले राप्तीसोनारी गाउँपालिका विपदको उच्च जोखिममा रहेको बताउँदै सचेतनाको माध्यमबाट क्षति कम गर्नुपर्ने धारणा राखिन् । ‘अझैपनि मानिसहरुमा सचेतनाको कमी छ, यसका लागि विभिन्न संस्थासँग सहकार्य गरेर भएपनि काम गर्नुपर्छ,’ उनले भनिन् । विपदको समयमा आवश्यक पर्ने चाउचाउ, चिउरा जस्ता सामग्रीको ब्यवस्थापनसँगै सर्बसाधारणको खाद्यान्न बचाउनतर्फ ध्यान दिनुपर्ने प्रदेश सांसद कृष्णाको सुझाव छ ।

सो क्रममा राप्तीसोनारीमा विपदसम्बन्धी विगतदेखी वर्तमानसम्मको अवस्था, समस्या, चुनौती र प्रयासबारे गाउँपालिकाले थालेको प्रयासबारे वडा नम्बर ६ का वडाअध्यक्ष जनकराम थारुले प्रस्तुतीकरण गरेका थिए । कार्यक्रममा जिल्ला प्रहरी प्रमुख एसपी टेकबहादुर तामाङ, नेपाली सेना र सशस्त्र प्रहरीका अधिकारी, रेडक्रस बाँकेका सभापति गोर्वद्धनसिंह सम्झना, नरेन्द्रकुमार पौडेल, स्थानीय विपद ब्यवस्थापन समितिका पदाधिकारी, जनप्रतिनिधी, विभिन्न गैर सरकारी संस्थाका प्रतिनिधी लगायतको सहभागिता रहेको थियो ।

उद्घाटन कार्यक्रम पश्चात भएको छलफल पश्चात वडा नम्बर १ का वडाअध्यक्ष चन्द्रबहादुर ओली, वडा नम्बर २ का मदन ओली, वडा नम्बर ३ का गंगाराम थारु, वडा नम्बर ४ का अध्यक्ष कान्छा थारु, वडा नम्बर ५ का झगरु थारु, वडा नम्बर ६ का जनकराम थारु, वडा नम्बर ७ का वडाअध्यक्ष रामलखन थारु लगायतले छुट्टा-छुट्टै प्रस्तुती गरेका थिए । गाउँपालिका अध्यक्ष लाहुराम थारुले विपदबाट हुने क्षति न्युनिकरण गर्न यसवर्ष गाउँपालिकाले विपद प्रतिकार्य योजना बनाएको बताए । गाउँपालिकाले विपद ब्यवस्थापनका लागि चालु वर्षको बजेटबाट २ करोड रुपैयाँ छुट्याएको उनले जानकारी दिए ।

Womui
Womui