कमसल निर्माणले सिक्टा नहर परिक्षणमै भत्कियो

219

नेपालगन्ज, साउन ९-
सरकारले उच्च प्राथमिकता दिँदै राष्ट्रिय गौरवको आयोजनामा पारेको सिक्टा सिँचाइको मूल नहर निर्माणमा फेरि प्रश्न उठेको छ । राप्तीसोनारी गाउँपालिका ८ र ९ वडाको बीचमा पर्ने चंगाई खोलास्थित सिक्टाको पश्चिम (दायाँ) मूल नहर भत्किएपछि निर्माणको गुणस्तरमाथि प्रश्न उठेको हो । आयोजना कार्यालयले केही दिनदेखि परीक्षण गर्न नहरमा पानी छाड्न थालेको थियो । ‘आइसिपी–टू’ ठेक्काअन्तर्गत ठेकेदार कालिका कन्स्ट्रक्सन कम्पनीले निर्माण गरेको उक्त खण्ड सोमबार राति ९ बजेतिर भत्किएको हो । नहरको उक्त खण्डमा ‘मर्मत सम्भार अवधि’ नसकिएको र हस्तान्तरण पनि नभएको आयोजना कार्यालयले जनाएको छ ।

कुल ५० क्युमेक्स क्षमता रहेको मूल नहर परीक्षणका लागि ४ क्युमेक्स मात्र पानी छाडेको अवस्थामा भत्किएको कार्यालयले प्रस्ट्याएको छ । दुई वर्षअघि २०७३ असार १४ मा पनि मूल नहर परीक्षणकै क्रममा ढकेरीस्थित झिझरी खोलानजिक भत्किएको थियो । मूल नहरको १७. ७ सय किलोमिटरदेखि ३५ किलोमिटर खण्डको बीचमा पर्ने उक्त खण्डमा घुलनशील माटो (डिसपर्सिभ सोयल) प्रयोग भएका कारण पटक–पटक भत्किने गरेको छ । नहर भत्किएको स्थान राप्तीसोनारी–९, ढकेरी गाउँबाट करिब एक किलोमिटर पूर्व जंगलमा पर्छ । जिल्लाको अगैयामा ब्यारेज रहेको सिक्टाको मूल नहरले बढीजसो मानव बस्ती र जंगल क्षेत्रलाई छोएको छ । नहर भत्किएपछि ढकेरीका स्थानीय बासिन्दा निकै त्रसित भएका छन् । स्थानीय बासिन्दा धनिराम खत्रीले नहर भत्किएपछि डरले रातभर सुत्न नसकेको सुनाए ।

गाउँभन्दा टाढा नहर भत्किँदा मानवीय क्षति हुन नपाएको उनले बताए । ‘गाउँमा नहर फुटेको भए धेरै घर बगाउँथ्यो, धेरै मान्छे अकालमा मर्ने थिए,’ उनले भने ‘नहर फुटेको सुनेपछि रातभर निन्द्रा नै लागेन ।’ पटक–पटक सिक्टाको नहर भत्किनुमा कमसल निर्माण सामग्रीको प्रयोग भएको स्थानीय बासिन्दाले बताएका छन् । पटान गरिएको माटो घुलनशील भएको र ठेकेदारले कमसल निर्माण सामग्री प्रयोग गरेका कारण नहरको संरचना कमजोर हुन पुगेको स्थानीयको भनाइ छ । भत्किएको नहर निरीक्षण गरेका राप्तीसोनारी–९ का वडाअध्यक्ष महावीर ओलीले सिक्टाको नहर हेर्दा राष्ट्रिय गौरवको आयोजना भन्न लाजमर्दो भएको बताए । ‘राष्ट्रिय गौरवको आयोजना निर्माणमा ठूला ठेकेदारको मनपरी चल्यो, ठेकेदारले कस्तो निर्माण सामग्री प्रयोग ग¥यो, कस्लाई काममा लगायो भनेर विगतमा सरकारी निकायबाट कुनै वास्ता भएन,’ उनले भने, ‘नहर परीक्षण गर्दा सिक्टाको अहिले यो हालत भएको छ ।’ सिक्टा नहरमा अत्यन्तै कमसल निर्माण सामग्री प्रयोग भएको उनले ठोकुवा गरे । ‘नहरको स्लोपमा प्रयोग भएको सरिया देख्दा अचम्म लाग्यो, यति सानो साइजको सरिया प्रयोग भएको छ कि घर बनाउने काममा पनि यो सरिया प्रयोग गरिँदैन,’ वडाअध्यक्ष ओलीले भने, ‘राष्ट्रिय गौरवको आयोजनामा कसरी त्यति सानो सरिया प्रयोग भयो, यो डिजाइन स्वीकृत कसरी भयो ?’

आयोजनाले नहर निर्माण गर्ने बेला नै स्थानीय स्तरबाट घुलनशील माटो प्रयोग नगर्न बारम्बार सचेत गराइएको उनले स्मरण गरे । ‘नहर बनाउँदा खेरी घुलनशील माटो नहाल्नुस्, यसले भविष्यमा धोका दिन्छ भनेर भन्दा हाम्रो कुरा सुनेनन, स्थानीय बासिन्दाको आवाज सुनेको भए नहरको अवस्था यस्तो हुने थिएन,’ उनले थपे । दुई वर्षअघि ढकेरी गाउँनजिकै नहर भत्किएपछि स्थानीय बासिन्दाले नहरमा प्रयोग भएको घुलनशील माटो हटाएर राम्रो माटो हाल्नुपर्ने माग राखेका थिए । पटक–पटक दबाब दिए पनि स्थानीय बासिन्दाको मागप्रति आयोजनाले बेवास्ता गर्यो । त्यतिबेला मूल नहर भत्किएपछि सिक्टाको गुणस्तरबारे चौतर्फी रुपमा प्रश्न उठेको थियो । सरकारले सिक्टाको विविध विषयमा छानविन गर्न विभाग र मन्त्रालयमा समिति नै बनाएको थियो । उक्त समितिले प्रतिवेदन तयार गरे पनि सार्वजनिक गरिएन । स्रोतका अनुसार सिक्टाको डिजाइन, निर्माण कार्य लगायत काममा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा संलग्न व्यक्ति नै उक्त समितिमा बसेका थिए ।

परीक्षणका क्रममा नहर भत्किएपछि दुई वर्षसम्म मूल नहर परीक्षण नै अन्योलमा परेको थियो । ठेकेदार कालिका कन्सट्रक्सन र आयोजना कार्यालयबीच त्यसयता विवाद हुँदै आएको छ । आयोजना कार्यालयले ठेकेदारको धरौटी रकम रोकिदिएको थियो । आयोजना कार्यालयमा दोस्रोपटक सरुवा भएर भर्खरै निर्देशकको जिम्मेवारी सम्हालेका रमेश बस्नेत यसपटक जसरी भए पनि मूल नहर परीक्षण गरेर डुडुवा शाखा हुँदै किसानको खेतमा पानी पुर्याउने अठोटमा छन् । सुरुमा पाँच क्युमेक्सबाट बढाउँदै नौ क्युमेक्ससम्म पानी पु¥याउँदा शनिबार पनि मूल नहरको दुई ठाउँबाट पानी लिकेज भएको थियो । यसलाई सामान्य रुपमा लिँदै आयोजना कार्यालयले माटो थुपारेर टालटुल पारेको थियो । ‘लिकेज भएको दुई ठाउँमा मर्मत गरिसकेपछि यसपटक चाहिँ अलि बढी भत्किन पुग्यो,’ बस्नेतले भने, ‘भत्केको संरचना मर्मत गर्ने जिम्मा मैले दिइसकेको छु ।’

एकातिर मर्मत गर्दा अर्को्तिर नहर भत्केको उनले बताए । मूल नहर भत्किएपछि आयोजना कार्यालयले एक प्राविधिक समिति गठन गरेको आयोजना निर्देशक बस्नेतले जानकारी दिए । उक्त समितिले तीन दिनभित्रमा प्रारम्भिक र १० दिनमा विस्तृत प्रतिवेदन पेस गर्ने जिम्मा पाएको छ।गत शनिबार पनि चंगाई नाला र डुडुवा खोला नजिकको ‘सी’ नाला छेउबाट भ्वाङ पारेर नहरको पानी बाहिर निस्केको थियो । मूल नहरको १७.५ किलोमिटरदेखि ३५ किलोमिटर खण्डको बीच भागमा घुलनशील माटो पटान र कटान भएका कारण पटक–पटक नहर भत्किने गरेको आयोजना निर्देशक बस्नेतले बताए । ‘डिसपर्सिभ सोयललाई त्यतिबेला केमिकलबाट ट्रिटमेन्ट गरेर नहर बनाउनुपथ्र्यो, तर ठेकेदारले कमसल माटोलाई सिधै प्रयोग गर्नाले यस्तो समस्या बारम्बार आइरहेको छ,’ उनले भने । आयोजनाको ३५ किलोमिटर खण्डको मूल नहरमा ३० देखि ४० प्रतिशत क्षेत्रमा घुलनशील माटो पटान गरिएको आयोजनाका इन्जिनियरले अनुमान गरेका छन् ।

सामान्य खालको पानी सञ्चालन गर्दा नहर भत्किन थालेपछि सिक्टाको मूल नहरले कुल ५० क्युमेक्स पानीलाई थेग्नेमा इन्जिनियरलाई शंका छ । घुलनशील माटो प्रयोग भएका कारण मूल नहर ठाउँ–ठाउँमा चर्किएको छ । माटो पटान भएको मूल नहरमा ठुल्ठूला भ्वाङ परेको छ । नहरको दर्जनौं स्थानमा ठूला प्वाल पर्नुका साथै चर्किएको छ । नहरको गलत डिजाइन गर्ने र कमसल निर्माण गर्ने तत्कालीन ठेकेदार र कर्मचारीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने स्थानीय बासिन्दाको माग छ । पटक–पटक नहर परीक्षण गर्दा ठूलो समस्या दोहोरिएको भन्दै यसको छानबिनका लागि उच्चस्तरीय समिति सरकारले गठन गर्नुपर्ने बताएका छन् ।

२०६३ सालबाट निर्माण सुरु भएको आयोजनाको ४२ किलोमिटर दुई सय ५० मिटर लामो पश्चिम (दायाँ) मूल नहरमार्फत ३३ हजार सात सय ६६ हेक्टर तथा साढे ५३ किलोमिटर पूर्वी (बायाँ) मुल नहरमार्फत राप्तीपारिको कुल नौ हजार हेक्टर क्षेत्र सिँचाइ गर्ने सरकारको लक्ष्य रहेको छ । पश्चिम मूल नहरका सातवटा मुख्य शाखा नहर तथा पूर्वी मूल नहरबाट करिब चारवटा जति मुख्य शाखा नहर निर्माण गरिनेछ । हालसम्म पश्चिम मूल नहरको काम सम्पन्न भएर मर्मत सम्भार अवधि सुरु भएको छ, भने पूर्वी मूल नहरको तीन किलोमिटरसम्म ट्र्याक खन्ने काम सम्पन्न भएको बताइएको छ । आयोजनाको दोस्रो गुरुयोजना अनुसार आर्थिक वर्ष २०७६/०७७ भित्र सम्पूर्ण काम सम्पन्न गरिसक्नुपर्नेछ । आयोजना सम्पन्न हुँदासम्म कुल लागत २५ अर्ब नाघ्ने अनुमान छ । आयोजनाको करिब ६० प्रतिशत काम सम्पन्न हुँदा आर्थिक वर्ष २०७४/०७५ सम्म १४ अर्ब ७० करोड रुपैयाँ खर्च भइसकेको छ ।

-नागरिक दैनिकबाट साभार

Womui
Womui