नरैनापुर गाउँपालिकाको ४० करोड बजेट पारित

65

नेपालगन्ज, असार ३२-
नरैनापुर गाउँपालिकाले आर्थिक बर्ष २०७५/०७६ को बजेट तथा कार्यकम पारित गरेको छ । गाउँपालिकामा सोमबार बसेको दोस्रो गाउँसभाले बजेट तथा कार्यकम पारित गरेको हो । गत असार १० गते प्रस्तुत नीति तथा कार्यक्रममा आधारित रहेर बजेट पारित गरिएको प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले बताए ।

गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले प्रस्तुत गरेको ४० करोड ४ लाख ३१ हजार आय र ४२ करोड ४ लाख ३१ हजार ब्यय बजेट गाउँसभाले पारित गरेको हो । आयको तुलनामा २ करोड बढी व्यय भई न्यून भएको रकम संघीय सरकार र प्रदेश सरकारसँग माग गरी तथा आन्तरिक स्रोत परिचालन क्षमतामा अभिवृद्घि गरी पुर्ति गरिने बजेट वक्तब्यमा उल्लेख छ ।

पूर्वाधार विकास, गरिबी न्यूनीकरण, शिक्षा, स्वास्थ तथा सरसफाई, कृषिको आधुनिकीकरण, विविधिकरण, व्यवसायीकरण, उत्पादन र उत्पादकत्व वृद्धि, वातावरण संरक्षण, मौलिक सँस्कृतिको संरक्षण, सामाजिक सुरक्षा तथा लक्षित कार्यक्रम, सार्वजनिक प्रशासन र सेवा प्रवाहमा सुधारलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको छ । पूर्वाधारमा कुल बजेटको २६ प्रतिशत अर्थात् ११ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

त्यस्तै सौर्य उर्जाका लागि ३ करोड, स्वास्थ्यमा ८२ लाख, कृषि र पशुका लागि ६२ लाख, विद्यालयको भौतिक सुधारका लागि १ करोड २० लाख, लैंगिक समानता तथा समावेशीकरणका लागि १ करोड रुपैयाँ विनियोजन गरिएको प्रमुख प्रशासकीय अधिकृत बस्नेतले जानकारी दिए ।

Womui
Womui