चिकित्सा शिक्षा विधेयक तत्काल अघि नबढ्ने, डा केसीसँग वार्ता गर्न समिति गठन हुने

70

छिनछिन खबर
काठमाडौं ,असार ३१।प्रतिनिधिसभामा दर्ता भएको चिकित्सा शिक्षा विधेयक तत्काल अघि नबढ्ने भएको छ।जुम्लामा १६ दिनदेखि १५औं अनसनमा रहेका डा गोविन्द केसीका सहयोगी डा अभिशेषकराज सिंह र नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का सचिवालय सदस्य एवं प्रवक्ता नारायाणकाजी श्रेष्ठको बीचमा अनौपचारिक छलफलमा सरकारका तर्फबाट विधेयक अघि नबढाउने र वार्ता गर्ने कुराकानी भएको छ।

भेटमा डा केसी र सरकार दुवै पक्षाबाट वार्ता टोली निर्माण गर्ने, प्रतिनिधिसभामा रहेको विधेयक तत्काल अघि नबढाउने र विधेयकलाई माथेमा कार्यदलको प्रतिवेदन अनुसार संशोधन गर्ने लगायत विषयमा सकारात्मक कुराकानी भएको छ।प्रतिनिधिसभामा केही दिनदेखि लगातार विधेयक कार्यसूचीमा चढ्दै हट्दै गरेको छ।अध्यादेशको प्रतिस्थापन विधेयक दर्ता हुन नसकेपछि सरकारले नयाँ विधेयक संसद् सचिवालयमा दर्ता गराएको थियो।सरकारले अनसरत डा केसीसँग वार्तापछि मात्र विधेयक अघि बढाउने कुरामा सहमति भएकाले आजै सरकारका तर्फबाट वार्ता समिति गठन गर्ने सम्भवाना रहेको डा सिंहले बताए।

नेता श्रेष्ठले डा केसीलाई काठमाडौं ल्याई वार्ता गराउने वातावरण बनाइदिन डा सिंहसँग आग्रह गरेका थिए। तर, वार्ता समिति निर्माण भई सकारात्मक दिशामा अघि बढेपछि डा केसीलाई काठमाडौं ल्याउन पहल गर्ने वातावरण बन्ने बताएपछि हाललाई दुवै पक्षबाट अधिकतम पहल गर्ने कुराकानी भएको सिंहले जानकारी दिए।आइतबार १ बजे बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूचीमा रहेको चिकित्सा शिक्षा विधेयक पेशीबाट हटेको हो।शनिबार नै सरकारले अनौपचारिक रुपमा डा केसी सर्मथकहरुसँग भेट वार्ता थालेको थियो। जुम्लामा रहेका डा केसीको स्वास्थ्य गम्भीर भएको र सरकारको आलोचना हुन थालेपछि अनौपचारिक कुराकानी सुरु भएको हो।

Womui
Womui