भाषा परीक्षा पास गर्दैमा कोरिया जान पाइँदैन

106

मालती ओली
काठमाडौं, असार २९ । अघिल्लो साता प्रकाशित नतिजा अनुसार भाषा परीक्षामा उत्तीर्ण भएकै कारण कोरिया उड्ने सपना देख्नु भएको छ ? त्यसो हो भने पख्नुस् है । भाषा परीक्षा उत्तीर्ण गरेपछि पनि तपाईले कोरिया जानका लागि गर्नुपर्ने थुप्रै प्रक्रिया बाँकी छन् ।


विभिन्न प्रक्रिया पूरा गर्न नसक्दा भाषा परीक्षा उत्तीर्ण गरेका करिब २० हजार (यसपटकको नतिजासहित) युवायुवती कोरिया जान पाएका छैनन् । कोरियन रोजगारदाताको छनोटमा नपर्दा उनीहरूको कोरिया जाने सपना पूरा हुन नसकिरहेको हो । ठूलो रकम र समय खर्चेर राजधानीमा कोरियन भाषा सिकेका युवायुवती कोरिया जान नपाएपछि यतिखेर निरास भइरहेका छन् । चार वर्षअघि भाषा परीक्षा उत्तीर्ण गरेका झापाका विष्णु आचार्यले कोरिया प्रलोभनमा पर्दा ठूलो रकम र समय नष्ट भएको गुनासो गरे । भाषा सिक्न ६० हजार रुपैयाँ खर्चेका र एक वर्ष लगाएका आचार्यले अन्तिम समयमा उताबाट बोलावट नहुँदा कोरिया जान नपाएको गुनासो गरे । ‘पहिला लिइएको भाषा परीक्षामा उत्तीर्ण भएका सबै नउडेसम्म अर्को भाषा परीक्षा सञ्चालन नगर्नु पर्नेमा सरकारी कर्मचारी चासो नै दिँदैनन्,’ उनले गुनासो गरे, ‘कोरियनले जे भन्छन् । त्यही मान्दा कैयौं युवायुवतीको बिचल्ली भइरहेको छ ।’

गर्दै आएको जागिर, व्यवसाय तथा अध्ययन छाडी भाषा सिकेर कोरिया जाने एक सुत्रीय अभियानमा लागेका युवायुवती अन्तिम समयमा छनोटमा पर्न नसकेपछि धोका भएको भन्दै विभिन्न निकायमा गुहार मागिरहेका भेटिन्छन् । ‘कोरिया जानका लागि जिटुजि (दुबै देशको सरकारी निकाय) प्रक्रियाबाट छनोट गरिने भएकाले कमसेकम भाषा परीक्षा उत्तीर्ण भएकालाई जसरी पनि उड्न पाउने व्यवस्था हुनुपर्ने हो,’ चार वर्षअघि नै भाषा परीक्षा उत्तीर्ण गरेका विराटनगरका अवध कार्कीले भने, ‘कोरिया जाने भनेर राजधानी आइयो । भाषा परीक्षा पनि उत्तीर्ण भइयो । तर, अन्तिम समयमा उताबाट बोलावट भएन । अब कसरी घर फर्कने ?’

कोरियामा गएर कमाइ गरेपछि मात्र बिहे गर्ने योजना बनाएको बताउने कार्कीले अब बिहे गर्ने मुडसमेत नभएको गुनासो गरे । इपिएस कोरिया शाखाका अनुसार सन् २००८ देखि हालसम्म ७० हजार चार सय ६९ युवायुवतीले कोरियन भाषा परीक्षा उत्तीर्ण गरेपनि ५० हजार चार सय २४ मात्र उड्न सकेका छन् । वैदेशिक रोजगार विभाग अनतर्गतको इपिएस शाखाका सूचना अधिकारी शोभाकर भण्डारीले भाषा परीक्षा उत्तीर्ण गरेपछि स्वास्थ्य परीक्षणमा सफल हुनुपर्ने र फौजदारी अभियोग नलागेको प्रहरी रिपोर्ट आवश्यक पर्ने बताउँछन् । ‘यी बाहेक भाषा परीक्षामा उत्तीर्ण भएकालाई कोरियन रोजगारदाताले नबोलाएसम्म कोही पनि कोरिया जान पाउँदैनन्,’ उनले भने, ‘त्यसैले हामीहरूले भाषा परीक्षा उत्तीर्ण गर्नु कोरिया जाने ग्यारेन्टी होइन भन्ने गरेका छौं ।’
भाषा परीक्षा लिनेदेखि लिएर कापी जाँच गर्ने र कामदार बोलाउनेसम्मका सबै काम कोरियन अधिकारी र रोजगारदाताले नै गर्छन् । भाषा परीक्षामा उत्तीर्ण भएकाको नाम कोेरियाको मानव संशाधन विभागले रोस्टरमा प्रकाशित गरेपछि मात्र त्यहाँका रोजगारदाताले नेपालबाट कामदार बोलाउने अहिलेको प्रचलन हो । भण्डारीले भने, ‘भाषा परीक्षामा सफल भएकाहरूलाई चित्त नबुझे कोरियन रोजगारदाताले नबोलाउन पनि सक्छन् ।’
कोरियन रोजगारदाताले नेपाली कामदार बोलाउँदा त्यस्ता व्यक्तिले गर्ने कामको सैद्धान्तिक र प्रयोगात्मक सीप परीक्षण गर्ने व्यवस्था मिलाइएको हुन्छ । भण्डारीका अनुसार रोजगारदाताले चाहने हो भने कामदारले नेपालमा सिकेको भाषा परीक्षाको ज्ञान मात्र नभई सम्बन्धित कामप्रति उसको प्रयोगात्मक ज्ञान पनि भिडियोमार्फत जान्ने व्यवस्था मिलाइएको हुन्छ ।
कोरियन भाषा उत्तीर्ण गरेका व्यक्तिहरूलाई दुई वर्षसम्म कुनै पनि रोजगारदाताले नबोलाए त्यस्ता व्यक्तिको नाम रोष्टरबाट हट्ने गर्छ । ती व्यक्तिले कोरिया जान खोजे पुनः भाषा परीक्षा उत्तीर्ण गर्नुपर्छ ।
हालसम्म कोरिया जाने खोज्ने र गएकाको विवरण

वर्ष सन्मा प्रतिस्पर्धी उत्तीर्ण कोरिया उडेका
२००८ ३१५२५ ६७८६ २८१४
२००९ – – १९११
२०१० ३६२०३ ४१८० २३३९
२०११ ५००४३ १५६७८ ३९८३
२०१२ – – ६३३२
२०१३ ४४१२२ ८०५१ ५०४६
२०१४ ५८७४६ ३६६३ ६०२८
२०१५ ५११३७ ८४९० ५८६६
२०१६ ६०६२६ ३५१७ ८०७९
२०१७ ६८३८३ १२१०८ ७८००
२०१८ ८२२३५ ७९९६ २२६
जम्मा ४,८३,०२० ७०,४६९ ५०,४२४
स्रोत इपिएस कोरिया शाखा

Womui
Womui