आज भानुजयन्ती, विविध कार्यक्रम गरी मनाइँदै

125

छिनछिन खबर
काठमाडौं, असार २९ । आदिकवि भानुभक्त आचार्यको २०५ औं जन्मजयन्ती शुक्रबार नेपाल र विदेशमा विभिन्न कार्यक्रम गरी मनाइँदै छ । नेपाली समाजमा पठनपाठन र संस्कृतिको विकास गर्न तथा सांस्कृतिक, धार्मिक, सामाजिक एवम् नैतिक चेतनाको विकास गर्न पु‍¥याएको योगदानका कारण भानुभक्तलाई नेपाली समाजले सामाजिक अगुवाका रूपमा लिने गर्छ ।

१८७१ असार २९ गते तनहुँको चुँदी रम्घामा जन्मिएका आचार्यले ‘अध्यात्म रामायण’ को भावानुवाद गरी नेपाली समाजमा मौलिक नेपाली भाषा, साहित्य, धर्म, दर्शन र राष्ट्रियताको बिजारोपण गरेका थिए । उनका प्रश्नोत्तर (१९१०), भक्तमाला (१९१०), वधूशिक्षा (१९१९), रामगीता (१९२५) तथा दर्जनौँ फुटकर लगायत साहित्यिक कृति पनि प्रकाशित छन् ।

आचार्यले लेखेका पाण्डुलिपिलाई सग्रहित गरी कवि तथा गजलकार मोतीराम भट्टले पुस्तकाकारमा प्रकाशन गरेर नेपाली जगतमा उनलाई चिनाएका हुन् । नेपाली समाजमा एकैपल्ट भाषा, साहित्य, संस्कृति, धर्म, दर्शन, परम्परा, चरित्र, मर्यादा, पितृप्रेम, भ्रातृत्व, दाम्पत्य, कर्तव्यलगायत विषयलाई समन्वय गरेका आचार्य मूर्धन्य व्यक्तित्व भएको साहित्यकारहरु बताउँछन् ।

यसैबीच भानुजयन्तीको अवसरमा भानु प्रतिष्ठानका अध्यक्ष डा व्रतराज आचार्यका अनुसार जयन्तीका दिन विभिन्न स्थानमा प्रभातफेरीसहित नगर परिक्रमा र श्रद्धाञ्जलिसभा गरिने कार्यक्रम तय गरिएको छ । काठमाडौंमा हुने सभामा प्रधानमन्त्री ओलीलाई समेत आमन्त्रण गरिएको डा आचार्यले बताए ।

Womui
Womui