अविरल वर्षाले भक्तपुर डुबानमा

192

सपना शर्मा
भक्तपुर, असार २८ । अविरल वर्षाका कारण भक्तपुरका विभिन्न स्थान डुबानमा परेका छन् । बुधबार रातिदेखि परेको भीषण वर्षापछि हनुमन्ते खोलामा आएको बाढीले भक्तपुरका मध्यपुर, थिमि लगायतका क्षेत्र डुबानमा परेका छन् ।


हनुमन्ते खोलाको बाढीकै कारण जगाती र बाराही स्थानका बस्तीमा समेत पानी पसेको छ । ती स्थानमा बस्दै आएका भूकम्पपीडितको शिविर डुबानमा परेकोले पीडितले सुरक्षित स्थानको माग गरेका छन् । मध्यपुर थिमिका राधेराधे र कमेरोटार जग्गा एकीकरण आयोजनाभित्र रहेका बस्ती पूरै डुबानमा परेका छन् । राधेराधे र त्यस क्षेत्रका बस्तीका साथै भाटभाटेनी सुपर मार्केटदेखि स्यामसुङ कम्पनीसम्म पूरै डुबानमा छन् । राधेराधे अगाडिदेखि सानोठिमी जाने निकोसेरासम्म नै डुबानमा परेपछि घरबाट निस्कने अवस्था नभएको स्थानीयबासीले बताए ।

जमिनबाट चार फिट माथिसम्म पानी जमेपछि घरभित्र पानी पसेको छ । प्रत्येक घरको भुइँतलामा पानी पसेपछि भूइँतलामा बस्नेको बिजोग भएको छ । पसल र व्यवसाय सबै बन्द भएका छन् । यहाँको डुबानले कति क्षति भयो भन्ने यकिन नभएको प्रहरीको भनाइ छ।

मध्यपुरथिमिमा अरनिको राजमार्ग खण्डका दुवै क्षेत्र डुबानमा परेका छन् । चारदोबाटोबाट बालकोट जाने बस्ती र गठ्ठाघरको तल्लो भेग डुबानमा परेको छ । मध्यपुर अस्पताल क्षेत्र र आसपासका घर पनि डुबानमा परेका छन् । यता मनोहरा खोलामा आएको बाढी बस्तीमा पसेपछि जडीबुटीस्थित सुकुम्बासी बस्ती पूरै डुबानमा परेको छ ।

Womui
Womui