नारायणगढ मुग्लिन सडक भासिँदा एकतर्फी यातायात आवागमन

188

छिनछिन खबर
चितवन,असार २७ ।नारायणगढ–मुग्लिन सडकखण्डको गाईघाट नजिकै सडक भासिएपछि यातायात एकतर्फी सञ्चालन गरिएको छ।सडक भासिने क्रम बढ्दै गएपछि कारण खोजी गर्न विज्ञ समूह झिकाइएको छ। नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालले मंगलबार बिहान सामान्य भासिएको सडक क्रमशः बढ्दै गएर एक फिटजति भासिएको बताए।

भासिने क्रम बढ्दै गएपछि मंगलबारबाटै सडक एकतर्फी सञ्चालनमा ल्याइएको छ। नारायणगढबाट १७ किलोमिटर मुग्लिनतर्फ पर्ने सडकको ३० मिटर लम्बाइ र छेउबाट सात मिटर चौडा भाग भासिएको हो।सो ठाउँमा नौ मिटर कालोपत्रे गरिएको छ। कालोपत्रेको त्रिशूली नदीतर्फ थप दुई मिटर खुला भाग छ। कालोपत्रे गरिएको आधा भागसम्म भासिएको खनालले बताए।नारायणगढ–मुग्लिन सडक आयोजनाका परामर्शदाता कम्पनीका सहायक आवासीय इञ्जिनियर ज्ञानेन्द्र घिमिरेका अनुसार भासिने क्रम बढेमा तत्काल भित्ता काटेर सडक विस्तार गर्नुपर्ने हुन्छ। उनले तलबाट नदीले खोलेर भासिएको हुनसक्ने अनुमान गरिएको बताए।आज विज्ञहरुको समूह आउने र के गर्ने भन्ने विषयमा टुंगो लाग्ने घिमिरेले बताए। नजिकको भित्तो होचो भएकाले विस्तार गर्न सहज हुने घिमिरेको भनाइ छ। एक लेन थप्न करिब पाँच मिटर उचाइबाट भित्तो काट्नुपर्ने बताइएको छ।

अकस्मात् सडक रोकिन सक्ने भन्दै सडक नियमित बनाउने गृहकार्य सुरु गरिएको छ। सोही ठाउँमा २०६० सालमा रक स्वायल एङकरिङ गरिएको थियो। तत्कालीन सडक डिभिजन कार्यालय भरतपुरका इञ्जिनियर प्रकाश उपाध्यायले सोही क्षेत्रमा त्यतिबेला सडक भासिएर रक स्वायल एङ्करिङ गरिएको बताए।भित्तामा ड्रिल गरी १०र१५ मिटर रड घुसाएर रडसँगै सिमेन्ट जमाउने र बाहिरी भाग पनि ढलान गरी बलियो बनाउने कामलाई रक स्वायल एङ्करिङ भनिन्छ। सोही ठाउँको रक एङ्करिङले काम गर्न छोडेर भासिएको पनि हुनसक्ने अनुमान गरिएको छ।हाल सो सडक विस्तारको अन्तिम चरणमा पुगेको छ। सो सडक हुँदै दैनिक ६ हजारभन्दा बढी सवारीसाधन आवातजावत गर्छन्। (रासस)

Womui
Womui